फर्की आउँला मातृभुमी (गजल)

गोविन्द मल्ल (सन्जु)

सोचे जस्तो कहाँ हुन्छ प्रदेशको जागीर बाबा
फर्की आउँला मातृभुमी नलिनु है पीर बाबा।

हजुरको बृद्धावस्था रोगी शरीर मलाई थाहा छ
सम्झी ल्याउँदा सम्झनाले मुटुमै हान्छ तीर बाबा।

बाध्यता र परिस्थिति बीच गरिबीको छ खाल्टो
म बुझ्छु जानाजान कस्ले रोज्छ र भीर बाबा।

हजुर परदेश हुँदा म चिट्ठी लेख्थें सम्झन्छु तीदिन
गरिबलाई सहयोग होइना बचनले रोप्थे झीर बाबा।

पसिना र आँसुको मूल्य मोती ठानी सम्हाल्नेछु
गर्दिन त्यस्तो कुनै काम जस्ले झुकोस शीर बाबा।

मिहिनेत गरी बढ्नेछु अघि सँधै कर्तव्यपथमा
संघर्षले सजाउनेछु म आफ्नै तक्दीर बाबा।

गाउँघर पाखा पँधेरो खेतबारी डुलेको याद आउँछ
सारै खाने रहरछ आमैले बनाउनुभाको खीर बाबा ।

रुपा -४ सिद्ध, कास्की

Loading...