कृषिमा ध्यान दिन प्रदेश सरकारलाई वाणिज्य महासंघको सुझाव

विराटनगर, ९ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले कृषिमा लगानीको अवसर विषयमा अध्ययन गर्दै प्रदेश १ सरकारलाई प्रतिवेदन बुझाएको छ ।

नीजि क्षेत्र, सरकार तथा सहकारीहरुसँगको सहकार्यमा लगानी प्रवद्र्धन गरी कृषि क्षेत्रमा लगानी बढाउन सकिने महासंघको निष्कर्ष छ ।

कोरोना भाइरसको महामारी तथा लकडाउनले कृषि क्षेत्र र कृषिसँग सम्बन्धित उद्योगहरु धरासयी भएको भन्दै महासंघ यसमा सरकारले विशेष ध्यान जानु पर्ने जनाएको छ ।

यस्तै अहिलेको यो परिस्थितले उत्पन्न भएको समस्या समाधान गरेर सरकार तथा नीजि क्षेत्र अघि बढ्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

कृषि तथा गैरकृषि क्षेत्र, उद्योग कलकारखाना सहज रुपमा सञ्चालन हुन नसक्दा देश भित्रै बेरोजगारीको समस्या झन बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।

यतावैदेशिक रोजगारीमा रहेका लाखौं जनशक्ति पनि विश्व व्यापी आर्थिक मन्दी र जोखिमका कारण रोजगारी गुमाएर स्वदेश फर्किने अवस्थामा रहेकाले अगामी दिनमा बेरोजगारी समस्या झनै विकराल बन्ने तर्फ उसले सचेत गराएको छ ।

कृषिलाई व्यवसायिकरण गर्दै उच्च उत्पादन मार्फत खाद्य सुरक्षा, आम्दानी, आयात प्रतिस्थापन, कृषि उद्योगहरुको क्षमता विकास गरी स्वदेशमै प्रशोधन, मुल्य अभिवृद्धि, निर्यात प्रवद्र्धन र व्यापक रुपमा रोजागरीका अवसरहरु सिर्जना गर्ने तर्फ ध्यान दिनु अहिलेको आवश्यकता र प्राथमिकता प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन तथा आर्थिक वर्ष २०७७/७८ का लागी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अवधारणा मुख्यमन्त्री शेरधन राईलाई महासंघका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले प्रस्तुत गरेका थिए ।

प्रदेश सरकारसँग सहकार्यको लागि दिइएको प्रतिवेदन आगामी आर्थिक वर्षका लागि तर्जुमा हुने नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरि सहकार्य हुने महासंघले अपेक्षा राखेको कार्यबाहक अध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

Loading...