जिल्ला अस्पताल धनकुटाको सिल हटाइयो, बन्द रहेको सेवा सुरु गरिने

विराटनगर, ९ जेठ । आइतबारदेखि सिल गरिएको धनकुटा जिल्ला अस्पताल सञ्चालन गर्ने निर्णय भएको छ । गत ११ जेठबाट सिल गरिएको अस्पताल सञ्चालन गर्ने निर्णय भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र प्रहरी सहित ५ जनामा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको थियो । ५ जेठदेखि सिल गरिएको धनकुटा जिल्ला अस्पताल जेठ ११ गते आईतबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला अस्पताल सिल गरिएपछि मन्त्रालयले प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा धनकुटा अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पताल संवन्धि कार्ययोजना तय गर्न टोली पठाएको थियो ।

टोलीको सुझाव अनुसार मन्त्री सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे, प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहता लगायतको अनलाईन बैठकबाट अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।

अस्पताल सञ्चालनका लागि आवस्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको छ ।

धनकुटामा हाल सम्म १ सय ८० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमितहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ ।

Loading...