कोभिड- १९ र सम्बन्धित विषयमा नेपालमा विभिन्न अनुसन्धान हुने

नेपालमा कोभिड १९ र सम्बन्धित विषयमा अनुसन्धान सुरु गर्न लागिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीले नेपालमा पाइएको कोरोना भाइरसको अनुवांशिक संरचना र सङ्क्रमितहरूमा देखिएको रोगप्रतिरोधी क्षमतासहित विभिन्न विषयमा वैज्ञानिकहरूले अनुसन्धान गर्न लागेको बताए ।

परिषद्ले हालसम्म ३३ वटा विभिन्न अनुसन्धान प्रस्तावलाई स्वीकृति दिइसकेको छ । आफ्नै अग्रसरतामा १० वटा अनुसन्धान अघि बढाउन लागेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरससको सङ्क्रमणबाट निको भएका व्यक्तिको रगतबाट प्लाज्मा निकालेर प्लाज्मा थेरपी विधिबाट कोरोना भाइरसको उपचार गर्ने विषयमा अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

नेपालमा देखिएको कोरोना भाइरसको शक्ति र सङ्क्रमणको स्वरूप जानकारी पाउन कोरोना भाइरसको आनुवंशिक संरचना ९जीन० सिक्वेन्सको अध्ययन गर्ने सोच पनि बनाइएको छ ।

परिषद्ले कम्तीमा ५० जना कोरोना भाइरस सङ्क्रमितहरूलाई अध्ययनमा संग्लग्न गर्ने योजना बनाएको छ । त्यसबाहेक, विश्व स्वास्थ्य सङ्गठनले सहमति जनाएका औषधि र खोपको क्लिनिकल परीक्षणबारे पनि वैज्ञानिक अध्ययन गर्न लागेको छ ।

परिषद्ले विभिन्न तहमा रहेका अस्पतालको अवस्था र तयारी, कोभिड(१९ बारेको सर्वसाधारणको बुझाइ, क्वारेन्टाइनमा रहेका मानिसको चुनौती, मनोवैज्ञानिक अवस्था, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको मानसिक अवस्था, स्पताल र कार्यस्थलमा देखिएका असहजता, विदेशबाट फर्किएका व्यक्तिमा देखिएका कोरोना भाइरसको लक्षण र बजारमा उपलब्ध द्रूत परीक्षण किट आरडीटीको प्रभावकारिता जस्ता विषयसँग सम्बन्धित रहेको बताएका छन् ।

विज्ञहरूले भने नेपालमा भाइरसहरूसँग जोडिएका कतिपय अध्ययन तथा अनुसन्धान गर्न प्रविधि र स्रोत साधनको अभाव रहेको कुरालाई औँल्याएका छन् ।

Loading...