प्रदेश १ मा ४० हजार बढीको कोरोना परीक्षण गरिने, भारतबाट फर्काउन तयारी हुँदै

विराटनगर, ९ जेठ । प्रदेश १ का ४० हजार जना बढीको पीसीआर परीक्षण हुने भएको छ ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको हो ।

दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले बताए ।

उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गिकरण गर्दै प्रदेशमा कोरोना परीक्षण गर्न लागिएको छ ।

उच्च जोखिमका क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको छ ।

अहिलेसम्म ४ हजार १ सय बढीको कोरोना परीक्षण भइसकेको छ ।

कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहक्षेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड कोरोना संक्रमितको उपचारको लागि थप गरिने भएको छ ।

प्रदेश १ मा भारतबाट स्वदेश फर्कने नेपालीहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजना समेत स्विकृत गरिएको छ ।

कार्ययोजनाअनुसार इलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया बनाउन थालिएको छ ।

होल्डिङ्ग एरियामा १५ हजार बेड बनाइने छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड राखिदै छ ।

अहिलेसम्म १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।

Loading...