प्रदेश १ मा कोरोना संक्रमितको उपचारका लागि ११ भेण्टिलेटर तयार

विराटनगर, ९ जेठ । कोरोना संक्रमितको उपचारका लागि प्रदेश १ का विभिन्न अस्पतालमा गरी ११ वटा भेन्टिलेटर तयार गरिएको छ । यस्तै १२ वटा भेण्टिलेटर थप गर्ने तयारी प्रदेश सरकारले गरिरहेको छ ।

कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पताल विराटनगरमा ३ वटा भेण्टिलेटर मेसिन राखिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ वटा भेण्टिलेटर कोरोना संक्रमितको उपचारको लागि राखिएको छ ।

प्रतिष्ठानले आइतबारबाट एकसय बेडको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा ल्याउँदैछ । अस्पतालमा भण्टिलेटरको संख्या २० वटा पूर्याउने तयारी भइरहेको उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीका सल्लाहकार दिपिल भट्टराईले बताए ।

१ सय शैय्याको अस्पतालमा तत्काल ५ वटा आइसियू बेड छन् । आवश्यकता अनुसार थप गर्न सकिने छ ।

कोशी अस्पताल विराटनगरका फोकल डाक्टर डेनप्रसाद आचार्यका अनुसार विराटनगरमा निर्माण गरिएको ५० शैय्याको कोभिड १९ उपचार केन्द्रमा १० वटा आइसियू बेड राखिएको छ ।

अस्पतालमा तीनवटा भेण्टिलेटर राखिएको छ । ५० शैय्याको अस्पताललाई आवश्यकता अनुसार ७० शैय्याको बनाउन सकिने छ ।

कोरोना संक्रमितको उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लेबल ३ को अस्पतालको रुपमा विकास गरिएको छ ।

अस्पतालमा प्रदेश १ र २ का गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने भट्टराईले बताए ।

लेबल ३ भन्नाले संक्रमणको गम्भिर अवस्था हो । ‘अवस्था हेरेर गम्भिर प्रकृतिका विरामीको उपचार गर्न पाँचसय बेडको अस्पताल बनाउन सकिन्छ ।’

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउको भवनलाई अस्पतालको रुपमा विकासको तयारी गरिरहेको छ ।

Loading...