झगडा र मदिरा सेवनका कारण आगो लगाउने क्रम बढ्दो

बलेवा, ९ जेठ । बागलुङमा पछिल्लो चार महिनामा ३ वटा आगलागीको घटना भएको छ । सबै आगालगीका घटनामा घर झगडा र मदिरा सेवन कारणका रुपमा देखिएको छ ।

बागलुङको बरेङ गाउँपालिका वडा नं ३ का अध्यक्षसहित दुई जनाको ज्यान जाने गरी भएको आगलागीको घटना भने छिमेकी जिल्लाको थियो ।

बुधबार बडिगाड गाउँपालिका–२ सिमलचौरका सुरजबहादुर कुमाल मदिरा सेवन गरेको सुरमा घरमा झगडा गर्दै घरमा लागो लगाए ।

मदिराले मातेका सुरज आफैंले घरमा आगो लगाएको भन्दै प्रहरी निरीक्षक दीपक रिजालले भने “ठूलो क्षति त भएको छैन तर घरगोठ जलेको छ ।”

बुधबार राति ९ बजेपछि भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

घरगोठ एकै ठाउँमा तथा खरको छानो भएकाले गोठमा बाँधिएका पशुचौपाय जोगाउनसमेत हम्मेहम्मे भयो ।

उनको घर जल्दा लाखौँको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

दैनिक मजदुरी गरेर खाने परिवारमा घरभित्रैको झगडामा मदिराले होस गुमाउँदा ओत लाग्ने बास नै उजाडियो ।

बडिगाडमा जस्तै गत चैतमा बागलुङ नगरपालिका–१० भकुण्डेका नगेन्द्र थापाले पनि आफ्नै काका पर्नेको गोठमा आगो लगाए । मदिरा सेवन गरेर घर पुगेका उनले परिवारसँगको समान्य झगडाकै क्रममा आगो लगाएका थिए ।

समाजले मदिरा नियन्त्रणमा कदम चाल्नुपर्ने जानकारहरु बताउँछन् ।

रासस

Loading...