निजी अस्पतालको पक्षपोषण गरेको होइन

कोरोना भाइरस महामारीका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरू दिन-रात नभनी खटिइरहेका छन् ।

डा. फरवार्ड सिलवाल

यस्तो जोखिमको समयमा उनीहरूलाई के–कस्तो समस्या परिरहेको छ र यतिबेला उनीहरू कसरी काम गरिरहेका छन् तथा कोरोना भइरससँग सम्बन्धित विभिन्न विषयमा रहेर नेपाल चिकित्सक संघ काेशीका अध्यक्ष तथा दन्तचिकित्सक डा. फरवार्ड सिलवालसँग गरिएको विशेष कुराकानीः

कोरोना भाइरसको सन्क्रमण नेपालमा पनि बढिरहेको छ, बिरामीलाई कसरी उपचार सेवा प्रदान गरिरहनुभएको छ ?

जबदेखि नेपालमा लकडाउन सुरु भयो, त्योभन्दा अगाडिसम्म हामी नर्मल तरिकाले नै काम गरिरहेका थियौं । दन्त चिकित्सा मुखसँग सम्बन्धित हुने भएकोले सबैभन्दा जोखिम हुने क्षेत्र पर्ने हुँदा केही समय यसलाई हामीले बन्द गर्‍याैं । तर, बिरामीहरूलाई समस्या हुने थलेपछि धेरै फोनहरू आउन थल्यो ।

त्यसपछि हामीले स्वास्थ्य सामाग्रीहरूको प्रयोग गरेर दिनको १ देखि २ घण्टा अत्यन्त आवश्यक रहेका बिरामीहरूको उपचार गर्न थाल्यौं ।

अहिले प्रदेश १ मा सङ्क्रमण बढ्न थालेदेखि दन्त चिकित्सक संध मोरङले ट्रेसिङ नभएसम्म एक हप्ता वा केही समयको लागि सेवा बन्द गारिएको छ । बन्द भएपनि बिरामीहरू फोनमार्फत हामीसँग निरन्तर सम्पर्कमा जोडिरहनु भएको छ ।

हामीले पनि समस्यालाई बुझेर फोनबाट औषधि प्रिस्क्राइब गरिरहेका छौं । अहिले एक हप्ताको लागि भनेका छाैं, ट्रेसिङको अवस्था हेरेर एक हप्तामा पछि फेरि हामी अधि बढ्ने छौं ।

तपाईं चिकित्सक संघ कोशीको अध्यक्ष पनि हुनुहुन्छ, लकडाउनमा चिकित्सकहरूको अवस्था कस्तो छ ?

लकडाउनको बेलामा चिकित्सकहरूमा डर, त्रास त छँदै छ । सुरुदेखि नै स्वास्थ्य उपकरणको अभाव छ, निजी तथा सरकारी अस्पतालहरूले थोरै मात्रामा स्वास्थ्य उपकरणहरू कहीँबाट ल्याएर वितरण गरेर म्यानेज गरिरहेका छन् ।

यसले पनि पहिलाभन्दा केही थोरै भएपानि उनीहरूलाई सजिलो महशुस भएको छ । बिस्तारै सबै सामाग्री र स्वास्थ्य उपाकरणहरू पुगेको अवस्थामा उनीहरूमा भएको डर कम हुँदै जानेछ ।

महामारीको समयमा चिकित्सकहरूले के कसरी उपचार सेवा प्रदान गरिरहनु भएको छ ?

महामारीको समयमा चिकित्सकहरूले दूरी कायम गरेर उपचार सेवा प्रदान गरिरहनु भएको छ । कोरोना भाइरस श्वासप्रश्वास, तथा थुकका छिटाबाट फैलिने डर भएका कारण दन्त चिकित्सा, नाक, कान, घाँटी तथा आँखाको क्षेत्रमा बिरामीको नजिकै रहेर समस्या हेर्नुपर्ने तथा उपचार गर्नु पर्ने हुँदा अलि अफ्ट्यारो देखिन्छ ।

यसबाहेकका छेत्रमा सावधान भएर, स्वास्थ्य सामाग्री अपनाएर, दूरी कायम गरेर सबैले काम गरिरहनुभएको छ । अहिले लकडाउनको कारणले बिरामीको चाप पनि कम नै भएको कारणले अस्पतालमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको सङ्ख्या पनि कम छ र म्यानेज पनि भइरहेको छ ।पहिले ४ जना डाक्टरले काम गर्नुपर्ने ठाँउमा अहिले १ जनाले गरिरहनु भएको छ । सबैले मिलेर पालैपिलो काम गरिरहनुभएको छ ।

कोरोनाको संकटमा डाक्टरहरूले सामना गर्नु परेका मुख्य समस्याहरू के के हुन् ?

कोरोनाको संकटमा डाक्टरहरूले उपचार गर्नुभन्दा पनि संक्रमित पत्ता लगाउन नै मुख्य समस्या भइरहेको छ । किनभने कोरोना भाइरस टेस्ट गर्ने पीसीआर प्रविधि नै हामीसँग कम मात्रामा छ ।

प्रदेश १ मा कोरोना परीक्षण केवल कोशी अस्पताल र धरानको बिपीकेएचएस अस्पतालमा हुन्छ । पीसीआर मेसिनको क्षमता दिनमा फुल टाइम चलाउँदा ७० देखि ७५ वटा मात्र हुने भएकोले हामीले एक दिनमा यति मात्र परीक्षण गर्ने अवस्थामा छौं । परीक्षणको मात्रा पनि कम भइरहेको छ ।

हालको समयमा बाहिरबाट आएको मान्छे, वा उक्त मानिसको सम्पर्कमा आएका मानिसहरू, भीडभाडमा गएको मान्छेहरूमा संक्रमण देखिरहेको छ । पहिला संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूको परीक्षण भइरहेको कारणले डाक्टर तथा स्वास्थ्यकर्मीहरूको परीक्षण हुन सकिरहेको छैन वा अलिकति ढिलो भइरहेको छ ।

कोशी अस्पतालमा भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको परीक्षण गर्न सुरु गरिएको छ । त्यसरी नै नमूना संकलन गरी परीक्षणको दायरालाई बढाउन सके, बिरामीहरूले पनि आफ्नो ट्राभल हिस्ट्री नलुकाएको अवस्थामा हामी अलि बढी सुरक्षित हुन सक्छौं ।

डाक्टरहरूलाई भगवानको रूप पनि मानिन्छ । तर, संकटको बेलामा डाक्टरहरूले बिरामीलाई उपचार गर्न सक्दैनौँ पनि भन्नु भयो, के यो आचारसंहिताविपरीत छैन र ?

हैन, डाक्टरहरूले बिरामीलाई उपचार गर्न सक्दैन भनेको होइन । महामारीको बेलामा चिकित्सकहरू बिरामीको सम्पर्कमा कसरी आउने कुरामा जोड दिएको हो । अहिलेको समयमा चिकित्सकहरू बिरामीको सम्पर्कमा बढी जाने हो भने स्वास्थ्यकर्मीहरूबाट पनि संक्रमण फैलिने तथा संक्रमितबाट पनि स्वास्थ्यकर्मीमा संक्रमण फैलिने अवस्था छ ।

त्यसैले, यो अवस्थामा संक्रमण हुने सम्भावनाको चेनलाई ब्रेक गर्नका लागि यस्तो गरेको हो । परिक्षण गर्दा संक्रमित भएको थाहा पाएपछि, केहि समस्या नआएको खण्डमा बिरामीको उपचार गर्न कुनै अफ्ट्यारो हुदैन । यो अवस्थामा स्वास्थ्यकर्मीहरूको सुरक्षाका उपकरणहरूको प्रयोग गरेर उपचार गर्न सक्छौं ।

अस्पतालले ज्वरो आएका विरामी भर्ना नलिएर फर्काइदिएका छन्, यस्तो गर्नु ठीक हो ?

सुरु सुरुमा कहिँ-कहिँ यस्तो सुनियो र पनि देखियो । यो कुरामा चाहिँ मलाई हाम्रो सरकारको कमी- कमजोरी छ जस्तो लाग्छ । सुरुमा संक्रमित भेटिएको ठाउँका सर्वसाधारणहरूलाई परामर्श गर्नसक्नु मुख्य काम हो । स्वास्थ्यकर्मीहरूको काम उपचार गर्ने हो । तर, मानिसहरूलाई बुझाउने, सम्झाउने काम सञ्चारमाध्यम तथा सरकारले गर्न सक्नुपर्‍याे ।

अस्पताल जाने बेलामा सबै आफ्नो हिस्ट्री दिन, पीसीआर परीक्षण गर्ने ठाउँमा बोलाएको छ भने त्यहाँ जान बुझाउनुपर्छ । तर, यस्तो प्रकारको म्यासेज उनीहरूलाई दिइएको छैन । संक्रमित धेरै भएको ठाउँबाट आएको बिरामीहरूदेखि त स्वास्थ्यकर्मीहरू पनि डराउँछन् ।

स्वास्थ्यकर्मीहरूको सम्पर्कमा धेरै मानिसहरू हुन्छन् साथै संक्रमित मानिसले अस्पताल आउने क्रममा धेरै मानिसहरूको सम्पर्कमा आएको हुन सक्छ जसकारण संक्रमणको डर थप बढ्न सक्छ । यसबाट बिरामी तथा सर्वसाधारणलाई मात्र नभएर आफूलाई पनि जोगाउन खोजेको हो । यदि डाक्टरहरू नै संक्रमित हुँदै गए भए बिरामीको उपचार गर्न थप समस्या हुन सक्छ ।

कतैकतै भर्ना लिएर अपरेसन थिएटरमा पुर्‍याएपछि पनि बिरामीलाई रिफर गरिएको छ, के यो ठीक हो ?

यसलाई म कम्युनिकेसनको ग्याप भएको मान्छु । कुनै बिरामीको क्लियर हिस्ट्री थाहा भएमा त्यही आधारले सुरुमा बिरामीलाई सेलेक्सन गरी उपचार गर्नतिर लाग्न सकिन्छ । तर, धेरैजसो केसमा बिरामीहरूले नै गलत हिस्ट्री दिएरमाथि अपरेसन थिएटरमा पुगिसकेपछि बेहोस् पार्नअघि सोधिएको केही प्रश्नमा डराएर आफ्नो हिस्ट्री खुलाएका छन् । यस्तो अवस्थामा पनि डाक्टरको उक्त बिरामीको अपरेसन गर्ने हो भने त्यहाँ अपरेसन वार्डमा भएका मानिसहरू, बिरामीलाई वार्डमा सारिएपछि त्यहाँ हुने बिरामीहरू तथा एक दिनभित्र धेरैजना सम्पर्कमा आएर संक्रमण सक्ने हुन सक्छ । त्यही भएर गलती त सुरु मै भएको छ । यो कुरालाई सर्वसाधारणहरूले पनि नबुजेर यसलाई नकारात्मक तरिकाले हेरिएको हो ।

तपाईं अध्यक्षको हैसियतले बिरामी निकालेर निजी अस्पताललर गल्ति गरेको छैन भनेर पक्षपोषण गर्नुभयो नि, यसो गर्न मिल्छ ?

बिरामी निकालेर पक्षपोषण गर्न खोजेको होइन । नेपालमा एक दुई जना संक्रमित देखा परेपछि तथा लकडाउन सुरु हुनुअघिदेखि नै हामीले आधिकारिक व्यक्तिहरूसँग कुरा गरेका हौँ । महामारीको बेलामा कसरी चल्ने, ठाउँअनुसारको बिरामीलाई हेर्नका लागि स्वास्थ्यसँग सम्बन्धित छुट्टै टिमको आवश्यक छ । जानकार मानिसहरूले हामीलाई वास्तविक दृश्य देखाइदिएमा त्योअनुसार हरेक स्टेपमा हामी अघि बढ्न सक्छौं ।

यदि कुनै ठाउँमा संक्रमण देखिए के गर्ने, बिरामीलाई कसरी लाने, पीसीआर टेस्ट गर्नको लागि नमूना संकलन कसरी गर्ने, कन्ट्याक्ट ट्रेसिंग कसरी गर्ने जस्ता आइडिया दिनुका साथै उपचार गर्ने पाटो हेरे पनि अब यो कतिसम्म भयो र कसरी गर्ने भन्ने पार्ट अर्को ठाउँबाट गरिदिनु पर्छ ।

तपाईंले डाक्टर, स्वास्थ्यकर्मीको मनोबल गिराउने काम भयो र यसलाई रोक्नु पर्‍याे भनेर सरकार गुहार्नु भयो ? कसले गिरायो मनोबल ?

डाक्टर, स्वास्थ्यकर्मीको मनोबल सरकारले गिराएको हो । सिस्टम विकास गर्नका लागि हामीले सरकारलाई बारम्बार घचघचाइरहेका छौं । हामीले सुरुमा लक्षण नदेखिएका बिरामीहरूलाई त्यहीँको अस्पतालमा सावधानी अपनाएर उपचार गर्न तथा गाह्राे नहुन्जेलसम्म कोभिड अस्पतालमा भर्ना नगर्न पनि सल्लाह दिएका थियौं ।

यसमा उक्त संक्रमित भेटिएको ठाउँका मानिसहरू त्रसित भए जस्तो जवाफ आयो । कोभिड अस्पतालमा भर्ना गर्नेबित्तिकै उनीहरूलाई हेरचाह गर्ने जुन मेडिकल प्रोटोकल छ त्यसअनुसार उनीहरूको धेरै मानिसहरू सम्पर्कमा आउने हुन्छन् । धेरै कुरामा प्रोटोकलहरू फलो नभएपछि हामीलाई पनि डर रहन्छ ।

चिकित्सक संघ कोशीले निजी अस्पताललाई पनि कोभिड १९ टेस्टको व्यवस्था चाहियो भन्यो, किन ?

विश्वमै हेर्नु पर्दा स्वास्थ्य क्षेत्रमा बादी पकड निजी क्षेत्रको देखिन्छ । चिकित्सकहरू पनि प्राइभेट संस्थामा काम गर्नेहरू धेरै छन् । तर, अहिलेको अवस्थामा को सरकारी र गैर सरकारी भन्ने अवस्था होइन । संक्रमितहरू बढ्दै गएका छन्, डाक्टरहरूले पनि सधैँभरि उपचार गर्न नमिल्ने भनिएको छ, स्वास्थ्यकर्मीहरू पनि क्वारेन्टाइनमा बसेर रिपोर्ट नेगेटिभ आएपछि मात्र काममा फर्कन मिल्ने भनिएको छ । यस्तो हिसाबले त चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सकिने देखिन्छ ।

संसारभरको अवस्था हेर्दाखेरि यो भाइरसको संक्रमण एक वा दुई महिनामा सजिलैसँग सकिन्छ जस्तो देखिँदैन । यो अवस्थामा कोभिडबाहेकका बिरामीहरूलाई तथा स्वास्थ्यकर्मीहरू पनि गाह्राे पर्ने हुन्छ । लामो समयसम्म भाइरस रहने भएकोले काम सहज तरिकाले गर्न र बढी मात्रामा टेस्ट चाहिने हुन्छ ।

धेरैजसो ठाउँमा संक्रमण फैलिसकेको हुँदा अफ्ठ्याराे नपरेको बिरामी तथा कुर्न मिल्ने बिरामीलाई सोही अस्पतालको आइसोलेसनमा राखेर, नमूना संकलन गरेर पीसीआर गर्न पठाउने, नेगेटिभ तथा पोजिटिभ छुट्याएर तेहीअनुसारमा उपचार गर्नुपर्छ । एक दुई ओटा सरकारी असपतालमा मात्र निर्भर हुने अहिलेको अवस्था छैन । त्यसैले, पिसिआर टेस्ट सबैले गर्न पाउनु पर्छ र सरकारले यसलाई कसरि सहज तरिकामा गर्न सकिन्छ भन्ने तर्फ लाग्नु पर्छ । तर, निजी असपतालमा कोभिडको परिक्षण हुन थाले सरकारले तोकेको भन्दा बढी रकम भने लिन मिल्दैन ।

धेरैतिर टेस्ट गर्दा झन त्रास फैलिँदैन र ?

त्रास फैलिने त यसैनै छँदै छ । तर, त्रासलाई घटाउनका लागि परीक्षणहरू बढी भएमा कुन ठाउँमा कति संक्रमित छन्, त्यो ठाउँमा लक्षण देखिएका संक्रमितलाई कोभिड अस्पतालको आइसोलेसनमा राख्ने, संक्रमितको सम्पर्कमा रहेका मानिसहरूलाई क्वारेन्टाइनमा राखेर छुट्याउँदै गएमा त्रास अलि कम हुन्छ जस्तो लाग्छ । संक्रमित देखिएको ठाउँमा पीसीआर गरेर पोजिटिभ-नेगेटिभ छुट्याएर त्योअनुसार सावधानी अपनाएर अगाडि बढ्दा केही त्रास घट्न सक्छ ।

संघले सबै चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर टेस्ट गराउन माग गरेको छ, के यो सम्भव छ ?

अहिलेको अवस्थामा सम्भव नभएपनि यसलाई सम्भव गराउनु पर्छ । चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर टेस्ट कोशी अस्पतालबाट सुरु भएको छ । २४ घण्टामा ६० देखि ७५ ओटासम्म परीक्षण गर्ने क्षमता पीसीआरको छ । कोशी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको संख्या ३००भन्दा अधिक छ ।

यी सबैको गर्दा कम्तिमा एक हप्ताभन्दा धेरै समय लाग्ने हुँदा अन्य मानिसहरूको गर्न सकिँदैन । त्यही भएर पनि चाँडोभन्दा चाँडो निजी अस्पतालहरूले कोभिड परीक्षण सुरु गर्दिए सजिलो हुन्छ । निजी अस्पतालहरूले परीक्षण सुरु गरे चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई मात्र नभएर स्वेइच्छाले पनि परीक्षण गराउन सक्ने अवस्था हुन्छ ।

यसरी टेस्ट गराएर मात्र सधैँलाई हुँदैन ? टेस्ट गराएपछि कस्तो भरपर्दो सामाग्री अपनाउने ?

हो, टेस्ट गराएर मात्र सधैँलाई हुँदैन । आज टेस्टमा नेगेटिभ आउँदा पनि भोलि अन्जान तरिकाले संक्रमित व्यक्तिको सम्पर्कमा पुग्दा संक्रमण हुने सम्भावना रहन सक्छ । यो डर त जहिले पनि रहिनै रहने भयो । तर, सुरक्षा सामाग्रीहरू अपनाएर काम गर्दा १०० प्रतिशतभन्दा केही डर कम हुन्छ । त्योदेखि बाहेक संक्रमणबाट बच्न अपानाउन भनिएको सावधानी अपनाउनु पर्छ ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री दिने, बीमा गराउने, क्षतिपूर्ति दिने दायित्व निजी अस्पतालहरूको होइन र ? किन पाएका छैनन् ?

चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री दिने, बीमा गराउने, क्षतिपूर्ति दिने दायित्व सबैको हो । अहिलेको महामारी सरकारी वा गैर सरकारी भन्ने अवस्थामा छैन । यसमा सबै जना एकजुट भएर काम गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा नेपाल सरकारले नै जति सक्दो सुविधा दिनुपर्ने हुन्छ ।

कोभिड १९ उपचार केन्द्रमा खटिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई डब्लुएचओको प्रोटोकलअनुसार क्वारेन्टाइनमा राख्न भनिएको छ, के यो पालना भइरहेको छ ?

प्रोटोकलअनुसार पालना भइरहेको भन्ने खासै देखिएको छैन । एउटा डाक्टरले ४ दिनदेखि ७ दिनसम्म काम गरेर २ हाप्ता क्वारेन्टइनमा बस्ने, त्यसपछि १२० घण्टाभित्र २ देखि ३ पटक पीसीआर टेस्ट गर्ने । नेगेटिभ देखिएको अवस्थामा १ हप्ता होम क्वारेन्टाइनमा बसेपछि मात्र काममा फर्किनुपर्ने बताइएको छ । तर प्रोटोकलअनुसार खासै मिलिरहेको छैन ।

कोरोनाको बेला अस्पतालमा आएका सबै बिरामीको ट्राभल हिस्ट्री किन आवश्यक हुन्छ ?

कोरोनाको बेला अस्पतालमा आएका सबै बिरामीको ट्राभल हिस्ट्री १०० प्रतिशत आवश्यक हुन्छ । ट्राभल हिस्ट्री थाहा भए बिरामीको उपचार गर्न पनि सजिलो हुन्छ । यसमा परामर्श दिनुपर्ने कुराले पनि भूमिका निर्वाह गर्ने हुन्छ । गेटबाट भित्र जानुअघि नै परामर्श गरेर हिस्ट्री थाहा पाउन सकिन्छ । बिरामीलाई फर्काउनुभन्दा पनि अलग्गै आइसोलेसन वार्ड बनाएर शंकास्पद बिरामीहरूलाई त्यहाँ भर्ना गर्न सकिन्छ । आफूबाट परिवारको सदस्य तथा अन्य मानिसहरूलाई पनि संक्रमण फैलिनसक्ने कुरामा राम्रो परामर्श दिएर आइसोलेसनमा राख्ने, पीसीआरको परीक्षण गर्न नमूना संकलन गर्नुपर्छ । रिपोर्टमा पोजिटिभ आए त्यहीँअनुसार व्यवस्थित गर्ने तथा नेगेटिभ आए उनको उपचारलाई अगाडि बढाउने गर्ने जस्ता सल्लाह हामीले बारम्बार दिँदै आएका छौं ।

कोभिड संक्रमणले स्वास्थ्य क्षेत्रमा कस्तो असर पारेको छ ?

स्वास्थ्य क्षेत्रलाई समग्र रूपमा हेर्दा कामको प्रक्रियामा परिवर्तन आएको छ । लकडाउनका कारण बिरामीहरू आउने चाप पनि कम भएको छ । प्राइभेट क्षेत्रहरू भने पछि केही पैसा कमाउनका लागि नै खोलिएको हुन्छ । सरकारीमा न्यून हुने भएको हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि यहि कारणले सरकारीभन्दा पनि निजी क्षेत्रमा काम गर्न जाने चाहना हुन्छ । बिरामीनै आउन कम भएपछि, तथा केही राहत प्याकेज नपाउने हुँदा स्वास्थ्य क्षेत्रमा एकदम जोखिममा छ ।

कोभिड नियन्त्रणमा आउन समय लाग्छ र पछि पनि धेरै लामो असर प्रभाव रहिरहन सक्छ, स्वास्थ्य क्षेत्रले यसलाई कसरी सामना गर्नुपर्छ ?

सबैभन्दा पहिले यसमा बाहिर देशबाट आउने नागरिकहरूलाई व्यवास्तिथ गर्ने, क्वारेन्टाइनमा राख्ने, पीसीआर टेस्टहरू गर्ने, त्यसपछि उनीहरूले सावधानी अपनाउनुपर्ने कुराहरू राम्ररी बुझाएर घर पठाउने गर्नुपर्छ । यसबाट पनि केही हदसम्म संक्रमणबाट जोगिन सकिन्छ । साथै, कुनै ठाउँमा संक्रमण देखिएको छ भने, उक्त ठाउँलाई राम्ररी ट्रेस गरेर, संक्रमितको सम्पर्कमा आएका मानिसहरूको टेस्ट गरेर पोजिटिभ भएमा राम्रो उपचार गराएर फर्काउनु पर्छ । यसरी नै गर्दैगर्दै संक्रमणको जोखिम कम गर्दै लानुपर्छ । अरु देशहरूमा हेर्ने हो भने पनि उनीहरूले यही नै गरिरहेका छन् ।

कोभिड संक्रमणमा चिकित्सक र स्वास्थ्यकर्मीहरूले ध्यान दिनुपर्ने कुरा के-के हुन् ?

बिरामीको जाँच गर्दा सुरक्षा सामाग्री अपनाउने, पटकपटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, ग्रुपमा नजाने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सकभर सक्ने कामहरूलाई अनलाइनबाट गर्ने जस्ता आम मानिसहरूले लिँदै आएका सावधानीलाई नै कोभिड संक्रमणमा चिकित्सक र स्वास्थ्यकर्मीहरूनै ध्यानमा राख्नुपर्ने कुराहरू हुन् ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा महामारी फैलिदै गए संक्रमितहरूको संख्या बढ्ने हुँदा उनीहरूलाई राख्नलाई हामीसँग पर्याप्त ठाँउ छैन । प्रदेश १ मा हामीसँग केवल १७० जना कोभिड बिरामी राख्ने ठाउँ छ । अब नयाँ आउने बिरामीहरूका लागि सरकारले गम्भीर तरिकाले लिनुपर्छ । सरकारले मात्र नभएर यो कुरामा अब सबैले सतर्क रहनुपर्छ ।

सकभर संक्रमण भएपनि लक्षण नदेखिएका बिरामीहरूलाई छुट्टै राख्ने व्यवस्था गर्नुपर्छ । अस्पतालहरूको बेडलाई अनावश्यक रूपमा अकुपाई नगर्ने, सकभर अहिले कम जोखिममा भएका बिरामीहरूको उपचार गर्नका लागि कम से कम थोरै स्वास्थ्यकर्मीहरू तथा उपकरणहरूको प्रयोग गरेर पछिको लागि जोगाउनुपर्ने हुन्छ । भविष्यको लागि तयार रहनका लागि यतिले पुग्दैन । त्यसैले निजी क्षेत्रहरूसँग पनि कुरा गरेर एकसाथ अगाडि बढ्नु पर्छ ।

प्रस्तुति , अंकिता ताम्राकार

Loading...