ठूला क्लबहरूले हालाण्ड चाहनु स्वभाविक हो : बुन्डेसलिगा सीईओ

एजेन्सी, ९ जेठ । बुन्डेसलिगाका सीईओ क्रिश्चियन सेफर्टले डर्टमण्डका युवा स्टार इयर्लिङ हालाण्डलाई विश्वका अन्य ठूला क्लबहरूले चाहनु स्वभाविक रहेको बताएका छन् ।

बुन्डेसलिगा सुचारु भएपछि स्पेनिस खेल पत्रिका ‘मार्का’ सँगको अन्तर्वार्तामा सेफर्टले यस्तो बताएका हुन् । सेफर्टका अनुसार अन्य युरोपेली क्लबहरूले हालाण्ड भित्र्याउनअघि नै डर्टमुण्ड अनुबन्ध गर्नु एकदमै उत्कृष्ट कार्य थियो ।

बुन्डेसलिगामा आएसँगै सनसनी मच्चाउन थालेका हालाण्ड यतिबेला युरोपका अन्या चर्चित क्लबहरूको नजरमा पर्न थालेको छ । उनलाई आफ्नो क्लबमा ल्याउन स्पेनिस क्लब रियल मड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मुख्य दाबेदारका रूपमा मैदानमा छन् ।

हालाण्डले बुन्डेसलिगा छाडेर अन्य क्लबमा जानुले जर्मन लिगलाई केही घाटा पर्छ भन्ने प्रश्नमा सीईओ सेफर्ट भन्छन्, ‘घाटाको विषयमा कुरा गर्ने हो भने कुनै पनि उत्कृष्ट खेलाडीले आफ्नो देशको लिग छाडेर जाँदा निश्चित रूपमा केही घाटा त हुन्छ, यो सामान्य कुरा हो ।’

विश्वभरिको ध्यान आफूमा खिच्न सफल खेलाडीको बारेमा अन्य क्लबहरूले पनि विशेष चासो राख्नु र आफ्नो क्लबमा भित्र्याउन प्रयास गर्नु स्वभाविक रहेको उनले बताए ।

रेडबुल साल्सवर्गबाट यसै सिजन डर्टमुण्ड आएका हालाण्डले जर्मन लिग बुन्डेसलिगा र च्याम्पियन्स लिग दुवैमा आफ्नो क्षमता देखाइसकेका छन् ।

Loading...