प्रहरीको साथ छाड्दै ‘म प्रहरीको साथी’ अभियानका युवाहरू

बबिता लिम्बू
विराटनगर, ९ जेठ । लकडाउन पालनामा सहयोग गर्न समुदायसँगको साझेदारीमा विराटनगरसहित जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी साथीहरूले साथ छाड्न थालेका छन् ।

लकडाउन लम्बिएसँगै प्रहरीसँगै खाजा पानीको समस्या भएपछि सडकमा खटिने ‘म प्रहरीको साथी’ अभियानका युवाहरूले साथ छाड्न थालेका हुन् ।

नेपाल प्रहरी र विराटनगर–२ तीनपैनीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा विराटनगर बजारमा ‘म प्रहरीको साथी’ अभियान सुरु भएको थियो । लकडाउन पालना प्रभावकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय मोरङले सबै आवश्यक पालिकाहरूमा ‘म प्रहरीको साथी’ अभियान सञ्चालन गराएको थियो ।

सुरुमा एकदमै उत्साहित भएर प्रहरीसँगै लकडान पालना गराउन खटिन थालेका ‘म प्रहरीको साथी’ अभियानका युवाहरूले पछिल्लो समय साथ छाड्न थालेको समुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मीना जोशीले बताइन् ।

उनका अनुसार खाजापानी खाने खर्चको समेत अभाव भएपछि युवाहरूले प्रहरीको साथ छाड्न थालेका हुन् । अहिले एक दुई जना मात्र प्रहरीलाई साथ दिन आउने गरेका छन् ।

जिल्ला प्रहरी मोरङले विराटनगरबाहेक रंगेली, उर्लाबारी, बेलबारी, सुन्दरहरैँचालगायत धेरै पालिकाहरूमा ‘म प्रहरीको साथी’ अभियान सञ्चालन गराएको थियो ।

अभियानअनुसार ‘म प्रहरीको साथी’ लेखेको भेष्ट लगाएर स्थानीय युवाहरू लकडाउन पालना गराउन र वार्डका टोलटोलमा नयाँ मान्छेहरू आएको निगरानी गर्न खटिएका थिए । जसले विदेशबाट आएका नयाँ मान्छेहरू पहिचान गरेर क्वारेन्टाइनमा राख्न पनि सहयोग पुगेको थियो ।

‘म प्रहरीको साथी’ अभियानका युवाहरूसँग खटिएका प्रहरीहरूका अनुसार धेरैले आफूलाई म्यादी प्रहरीझैँ सम्झिएर सुरुमा उत्साहसाथ खटेका युवाहरू पछि पैसा पाइँदैन भन्ने बुझेपछि साथ छाडेका थिए ।

धेरैलाई आफूहरूलाई पालिकाहरुले म्यादी प्रहरीसरह मासिक तलब दिन आश गरेका थिए । तर महामारीमा बजेट काटेर राहत वितरण गर्न लागिपरेका पालिकाहरूले स्वयंसेवक प्रहरीलाई सहयोग गर्न सकेनन् । अर्कोतिर सरकारले पनि उनीहरूलाई म्यादी प्रहरी बनाउन आवश्यक ठानेन ।

निकै जोश–जाँगरका साथ सुरक्षा सेवामा खटिएका स्वयंसेवकहरूको संख्या दिनानुदिन घटिरहेको कारण अभियान प्रभावकारी नहुने हो कि भन्ने प्रश्न उब्जिन थालेका छन् ।

‘लकडाउनको मिति बढ्दै जाँदा कोरोनाको डर पनि बढ्दै गएको छ, सबैमा त्रास फैलिएको छ,’ अध्यक्ष जोशी भन्छिन्, ‘प्रहरीको साथी म अभियान छाडेर जानेको संख्या बढिरहेको छ ।’

मोरङ प्रहरीले कोरोना संक्रमण अवधिभर प्रत्येक पालिकाहरूको प्रत्येक वडामा १० जना युवाहरूलाई ‘म प्रहरीको साथी’ अभियानमा जोड्ने योजना बनाएको थियो । सोहीअनुसार विराटनगर महानगरबाहेक अन्य नगरपालिकाहरूमा पनि अभियान चलाइएको थियो ।

र सुरुमा अभियान उत्साहसाथ अगाडी ‘म प्रहरीको साथी’ अभियान प्रभावकारी पनि भएको थियो । तर लकडाउन बढेसँगै अभियानका युवा साथीहरूले प्रहरीको साथ छाड्न थालेका थिए ।

Loading...