सुनसान छन् विराटनगरका क्लिनिक, बिरामीलाई फोनबाटै परामर्श

मोहन ढकाल
विराटनगर, ४ जेठ । विराटनगरको अस्पताल चोकमा संगीता खतिवडाले दृष्टि क्लिनिक सञ्चालन गरेको पाँच वर्ष भयो । पाँच वर्षको अवधिमा राम्रो चलेको क्लिनिक लकडाउन सुरु भएयता सुनसान छ ।

अस्पताल चौकमा नै अन्शु ठाकुरले रिलायवल पोलिक्लिनिक सञ्चालन गरिरहेका छन् । उनको क्लिनिकको अवस्था पनि उस्तै छ ।

विराटनगरको हस्पिटल चोक आसपास ५० बढी निजी क्लिनिकहरू छन् । स्वास्थ्य हवको रूपमा परिचित विराटनगरका अस्पतालसँगै क्लिनिकहरूमा पनि भीडभाड हुन्थ्यो । तर लकडाउन सुरु भएसँगै क्लिनिकमा बिरामी देखिँदैनन् । अस्पताल आउने बिरामीको संख्या पनि घट्न थालेको छ ।

कोरोनाको त्राससँगै लकडाउनका कारण बिरामी आउन छाडेको निजी क्लिनिक सञ्चालकहरू बताउँछन् । बिरामी अस्पताल आउन नपाएपछि क्लिनिकहरूले फोनबार्ट फलोअफ परामर्श दिइरहेका छन् ।

लकडाउनका कारण बिरामी आउन कम भएको दृष्टि क्लिनिक सञ्चालन गर्दै आएकी संगीता खतिवडा बताउँछिन् । लकडाउनका कारण लामो समय बन्द भएको उनको क्लिनिक २६ वैशाखबाट खुलेको थियो । तर लकडाउन पहिला दैनिक ४० जना हाराहारीमा बिरामी आउने क्लिनिकमा दैनिक ५–६ जना आउँछन् ।

बिरामी रोकिएपछि कतिपय बिरामीलाई भने दैनिक फोनबाट परामर्श दिने गरिएको उनले बताइन् ।

हस्पिटल चोककै अन्शु ठाकुरले तीन वर्षयता रिलायवल पोलिक्लिनिक सञ्चालन गरिरहेका छन् ।

उनको पोलिक्लिनिकमा पहिला दैनिक २५ भन्दा बढी बिरामी आउने गरेका थिए । तर लकडाउनयता दैनिक १-२ जना बिरामी आउने गरेका छन् । ‘लकडाउनका कारण वैशाख १५ बाट खुला गरियो तर दैनिक १-२ जना मात्र बिरामी आउँछन्, उनले भने, ‘प्रायः विराटनगरभन्दा बाहिरका बिरामी बढी आउने गरेका थिए ।’

लकडाउनका कारण बाहिरका बिरामी नआएको उनको भनाइ छ । क्लिनिकबाट दैनिक फलोअपमा आउन नपाएका बिरामीहरूलाई फोनबाटै परामर्श दिने गरिएको उनले बताए ।

न्यू ओम साई ल्याव एण्ड क्लिनिकको अवस्था पनि उस्तै छ । ८ वर्षदेखि सञ्चालनमा रहेको सो क्लिनिकमा दैनिक १-२ जना मात्रै बिरामी आउँछन् । क्लिनिक फिजिसियन, छाला, हाडजोर्नी, नाक, कान, घाँटीलगायत अत्याधुनिक ल्याव सेवा सञ्चालन गर्दै आएको सञ्चालक दीपककुमार शाहले बताए ।

क्लिनिकमा भोजपुर, धनकुटा, खोटाङ, झापा, सिरहा, सप्तरीलगायतका ठाउँबाट बढी बिरामी आउने गरेको सञ्चालक शाहले बताए । ‘लकडाउनका कारण गाडी सञ्चालनमा नरहेका कारण एम्बुलेन्समा बढी भाडा तिर्नुपर्ने भएकाले पनि टाढाबाट बिरामी आउन पाउँदैनन्’, उनले भने, ‘बिरामीको संख्यामा कमी आएको छ ।’

बिरामी नआएका कारण विराटगरका प्रायः क्लिनिकहरू बन्द अवस्थामा छन् । यातायातका साधन बन्द भएका कारण दैनिक फलोअप गर्नुपर्ने बिरामीहरूलाई निजी क्लिनिकहरूले फोनबाटै परामर्श दिँदै आएका छन् ।

Loading...