ला लिगा १२ जुनबाट सुचारु हुने पक्का

एजेन्सी, ९ जेठ । कोरोना भाइरसका कारण स्गगित स्पेनिस ला लिगा जुनको दोस्रो साताबाट सुचारु हुनेभएको छ ।

स्पेनको सरकार र स्पेनिस फुटबल फेडेरेसनको अनुमतिसँगै ला लिगा अध्यक्ष जाभियर टेबासले सुचारुको मिति टुंगो लगाएका हुन् ।

टेबासले १२ जुन, शुक्रबारबाट लिग सुचारु हुने जनाएका छन् ।

सुचारु भएको पहिलो दिन सेभिल्ले डर्बी हुनेछ, जसमा सेभिल्ला र रियल बेटिसले प्रतिस्पर्धा गर्नेछन् ।

अरु दिनको खेलबारे लिगले क्लबहरूलाई २८ मेमा जानकारी गराउनेछ । ११ वटा म्याच डेबारे लिगका २० वटै क्लबलाई जानकारी गराइनेछ ।

ला लिगा गत मार्चबाट नै कोरोना महामारीका कारण स्थगित भएको थियो ।

यद्यपि, यसै साताबाट क्लबहरूले भने प्रशिक्षण थालेका छन् । सामाजिक दूरी कायम राखेर खेलाडीहरूले प्रशिक्षण गरिरहेका छन् ।

Loading...