बाँकेका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषसहित २१ जना निको भए

नेपालगञ्ज, ९ जेठ । बाँकेका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषसहित २१ जना निको भएका छन् ।

उनीहरू निको भइर शुक्रबार घर फर्किन लागेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।

खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक जना र ८ का २० जना निको भएर घर फर्कन लागेका हुन् ।

थापाका अनुसार पहिलो संक्रमित व्यक्तिको तेस्रो र अन्य २० जनाको दोस्रो रिपोर्ट नै नेगेटिभ आएकाले उनीहरूलाई आज डिस्चार्ज गर्न लागिएको हो ।

बाँकेमा पहिलो पटक १९ वैशाखमा एकजनामा कोरोना संक्रमण देखिएयता हालसम्म १ सय १ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ जनाको क्वारेनटाइनमा मृत्यु भएको थियो ।

नरैनापुरका ७४, नेपालगञ्जका २५ र खजुराका २ जना संक्रमित भएका छन् । संक्रमितहरूको खजुरा, नेपालगन्ज, कोहलपुर र दाङमा उपचार भइरहेको छ ।

Loading...