नेपालीको मन जितेपछि प्रतिपक्षी नेता मिनेन्द्रको प्रशंसा

शिवहाङ राई
विराटनगर, ९ जेठ । मुख्यप्रतिपक्षी दल कांग्रेसका नेता एवम् पूर्वसूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आम नेपालीको मत जितेका छन् ।

नेपाल–भारत सीमा विवादबारे भारतीय मिडियामा देशको पक्ष लिँदै कडा रूपमा प्रस्तुत भएपछि नेता मिनेन्द्रले आम नेपालीको मन जितेका हुन् । अतिक्रमित भूमिको पक्षमा डा मिनेन्द्रले ‘म प्रतिपक्षी दलको नेता भएपनि राष्ट्रियताको पक्षमा म प्रधानमन्त्रीकै साथमा हुन्छु’ भनेका थिए ।

भारतीय च्यानल ‘रिपब्लिक टेलिभिजन’ को कार्यक्रम ‘दि डिबेट’ मा संघीय सांसदसमेत रहेका रिजालले भिडियो कलमार्पmत उपस्थिति जनाएका थिए । ‘दि डिबेट’ का प्रस्तोता अर्नव गोस्वामीसँग नेता रिजालले गरेका कडा सवालजवाफ सामाजिक सञ्जालमा आजकल भाइरल बनेको छ । आम नेपालीले राष्ट्रियताको पक्ष लिएको भन्दै उनलाई स्यावासी दिइरहेका छन् ।

अन्तर्वार्ताको क्रममा अर्नवले नेपाललाई चीनले प्रयोग गरिरहेको र सीमा विवादमा पनि नेपाललाई चीनको सहयोग रहेको आरोप लगाएका थिए । आरोपको खण्डन गर्दै रिजाल अर्नवमाथि कडा रूपमा प्रस्तुत भएका थिए । प्रतिउत्तरमा रिजालले भनेका थिए , ‘हामीलाई कोसँग कस्तो व्यवहार गर्नुपर्छ भनेर तपाईंले सिकाउन नखोज्नुहोला, यसको निर्णय हामी स्वयम् गर्न सक्छौं ।’

अन्तर्वार्ताको क्रममा प्रस्तोता अर्नवले नेपालले जारी गरेको नयाँ नक्सामा समेटिएको भूमि नेपालको नरहेको र महामारीको बेला नेपालले सीमाबारे विवाद ल्याउन खोज्नु हास्यास्पद रहेको बताएका थिए । अर्नवले भनेका थिए, ‘यदि नेपालले नयाँ नक्सामा समेटेको भूमि फिर्ता लिने सोचेको छ भने त्यो नेपालको सपना मात्र रहनेछ ।’

‘चीनले नेपाललाई प्रयोग’ लेखिएको ह्यास्ट्याग सूचनासहित टेलिभिजन स्क्रिनमा लिइएको अन्तर्वार्तामा प्रस्तोता अर्नवले भारतीय भूमिमा रहेको लिपुलेक चीनको गतिविधि हेर्नका लागि भारतको महत्वपूर्ण स्थान रहेको बताएका थिए ।

नेपालले यस्तो बेला आफ्नो राष्ट्रको रणनीतिक हिसाबले महत्त्वपूर्ण रहेको स्थान चीनको निर्देशनमा आफ्नो नक्सामा समावेश गरेर विवाद निम्त्याएको हो ।

‘यसले नेपाल आफैंले नभई चीनको उक्साहटमा लिपुलेक, कालापानी क्षेत्रको विषयमा चासो देखाएको र चीनले नेपालको प्रयोग गरिरहेको प्रस्ट भएको देखिन्छ,’ अर्नवले भने ।

आफ्नो कुरा राख्न नदिई एकोहोरो बोलिरहेका अर्नवलाई रिजालले नेपालमा टेलिभिजन अन्तर्वार्ता यसरी नहुने भनेर कडा जवाफ पनि दिएका थिए । जवाफको क्रममा प्रतिप्रश्न गर्दै रिजालले प्रतिप्रश्न गरेका थिए, ‘पहिलो कुरा तपाईंले मलाई प्रश्न सोध्नु भएको हो कि आफ्नो सुझाव र सीमा विवादबारे विवरण दिनुभएको हो ?’

सीमा विवाद समाधानका लागि कुटनीतिक पहल हुनुपर्ने र दुवै पक्षबीच वार्ता हुन जरुरी रहेको रिजालले धारणा थियो ।

‘कोभिड–१९ को महामारीपछि हामी दुवै राष्ट्र वार्तामा बस्न सक्छौं र यसको समाधान गर्न सक्छौं । त्यतिबेला हामी लिपुलेक, कालापानी क्षेत्र हाम्रो भएको प्रमाण पेश गर्छाै र भारतले पनि त्यहीँ बेला प्रमाण छ भने देखाउँदा हुन्छ,’ प्रश्नको जवाफमा रिजालले भनेका थिए, ‘तपाईं मेरो भनाइप्रति असमहति जनाउन सक्नुहुन्छ तर नेपाल र नेपाल सरकारलाई यो गर, त्यो नगर र गलत आरोप लगाउन सक्नुहुँदैन र त्यस्तो गर्न पाउनु पनि हुँदैन ।’

रिजालको जवाफपछि विषयलाई मोड्दै अर्नवले नेपालका प्रधानमन्त्री ओलीले चीनबाट आएको भाइरस कमजोर र भारतबाट आएको भाइरस कडा रहेको विवादीत अभिव्यक्ति किन दिए भनेर प्रश्न गरेका थिए ।

प्रश्नको उत्तर दिँदै रिजालले भनका थिए, ‘हो । हामी प्रतिपक्षी दलका हौं तर सीमा विवादबारे प्रधानमन्त्रीले लिनुभएको अडानमा हाम्रो पूर्ण समर्थन छ ।’ संसारका हरेक राष्ट्र प्रमुखहरूले अभिव्यक्ति दिने तरिका फरक–फरक रहेको हुनाले नेपाली प्रधानमन्त्रीले कसरी अभिव्यक्ति गरे त्यो प्रधानमन्त्रीको तरिका रहेको रिजालले बताएका थिए ।

भारतीय कार्यक्रम प्रस्तोता अर्नव पछिल्लो समय सत्तारुढ दल भारतीय जनता पार्टी निकट तथा हिन्दूत्त्वको पक्षमा वकालत गर्ने पत्रकारको रूपमा चिनिन्छन् ।

यता भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा रिजालको कडा प्रस्तुतिको सामाजिक सञ्जालमा प्रशंसा भएको छ । जिम्मेवार विपक्षी दलको नेताले राष्ट्रियताको सवालमा परिपक्व प्रस्तुति देखाएको भनेर सञ्जालमा रिजालको प्रशंसा भैरहेको छ ।

Loading...