साउदीमा तेह्र सयभन्दा धेरै नेपालीलाई कोरोना संक्रमण, ७ जनाको ज्यान गयो

विराटनगर, ९ जेठ । साउदीमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या १ हजार ३ सयभन्दा धेरै रहेको छ ।

साउदी सरकारले दिएको जानकारीअनुसार २ मार्चदेखि बिहीबारसम्ममा १ हजार ३ सय ६४ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ७ जनाको ज्यान गएको छ ।

जेद्दा क्षेत्रमा ३ जना र रियादमा रहेको नेपाली दूतावासले हेर्ने क्षेत्रमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको दूतावासले जनाएको छ ।

साउदीको राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना र अन्य क्षेत्रमा ३ गरी रियादमा रहेको राजदूतावाले हेर्ने क्षेत्रमा १ हजार १६ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।

यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना नेपाली संक्रमित छन् । संक्रमितमध्ये १७ जना महिला रहेका छन् ।

अघिल्लो हप्ताको मंगलबार अर्थात ३० वैशाखसम्म ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । गएको ९ दिनमा मात्रै थप ६ सय ९० जना नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउदीले संक्रमितमध्ये निको हुनेको संख्या नखुलाए पनि धेरै नेपाली निको भएको साउदीले दूतावासलाई जानकारी दिएको छ । साउदीले २३ मेदेखि २७ सम्मका लागि कार्फ्यु जारी गरेको छ ।

Loading...