हालाण्ड रोनाल्डोको स्तरमा पुग्न सक्छन् : रिभाल्डो

एजेन्सी, ९ जेठ । ब्राजिलियन लिजेन्ड रिभाल्डोले इयर्लिङ हालाण्ड स्पेन आएमा उत्कृष्ट बन्ने बताएका छन् ।

बार्सिलोनाका पूर्वखेलाडी रिभाल्डोले ‘बेटफेयर’सँगको कुराकानीमा १९ वर्षीय हालाण्ड ला लिगा क्लब आएमा ब्राजिलियन लिजेन्ड रोनाल्डोको स्तरमा पुग्नसक्ने बताएका हुन् ।

पछिल्लो समय नर्वेजियन स्टार हालाण्ड रियल मड्रिडसँग जोडिएका छन् ।

यसै सिजन मात्र साल्जबर्गबाट जर्मन क्लब बोरुसिया डर्टमुण्ड आएका उनलाई रियलले भित्र्याउने योजना बनाएको बताइन्छ ।

यस्तैमा रिभाल्डोले हालाण्डको सही गन्तव्य ला लिगा क्लब रहेको बताएका छन् ।

‘उनी अहिले नै मान खेलाडी छन् । १९ वर्षको उमेरमै पनि उनी विश्वकै उत्कृष्ट आक्रामक खेलाडीमध्येका एक मानिन्छन्,’ उनले भने ।

‘केही मानिसले अहिले नै हालाण्डको शैलीलाई रोनाल्डो नाजारियोको जस्तै मान्छन्,’ उनले भने, ‘रोनाल्डोसँग उनको शैलीको समानता पनि छ । उनी छिटा छन् अनि गोल पनि धेरै गर्छन् । तर, बुन्डेसलिगा उनको सही गन्तव्य होइन ।’

उनले रियल मड्रिड नै हालाण्डको सही गन्तव्य भएको पनि बताए ।

‘यदि, स्पेन आएमा उनी रोनाल्डोको स्तरमा पुग्न सक्छन् । उनको सही गन्तव्य नै रियल हो ।’

Loading...