कोरोनाको हटस्पट कचनकवल : ३३ जना संक्रमितको ‘ट्राभल हिस्ट्री’ चोर बाटो !

विराटनगर, ८ जेठ । पछिल्लो चार दिनमा झापामा थपिएका ३३ जना कोरोना संक्रमित भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेकाहरु रहेको पाइएकाे छ ।

झापामा संक्रमितको संख्या ३५ पुगेको छ । ती मध्ये ३३ जना झापाको दक्षिणी कचनकवल गाउँपालिका भित्र भेटिएका हुन ।

संक्रमित सबैलाई भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गर्न खोज्दा स्थानीय प्रशासनले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष अञ्जरा आलमले बताए ।

संक्रमित सबैलाई भारतीय सुरक्षाकर्मीले नेपाल तर्फ पठाएका थिए । ‘नाकामा आएकाहरुलाई भारतीय प्रहरीले नै कटाएका हुन ।’ गाउँपालिका अध्यक्ष आलम भन्छन् ‘नाकाबाटै हामिले क्वारेन्टाइनमा लग्यौं ।’ नाकाबाटै क्वारेन्टाइनमा राखेका कारण गाउँमा फैलन जोखिम नभएको उनले बताए ।

उनका अनुसार गाउँपालिका भित्रका ४ वटा क्वारेन्टाइनमा २२३ जना छन । भारतबाट नेपाल भित्रिएका मध्ये ९८ जनाको मात्र थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएको छ । ९८ जनामा परीक्षण गर्दा ३३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

अध्यक्ष आलमका अनुसार पथरीया माबीमा २३, जना, लक्ष्मीप्रसाद देवकोटा माबीमा ६५, महेन्द्र रत्न माध्यमिक विद्यालयमा ९५ र जानकी आधारभूमा विद्यालयमा ४० जना बसिरहेका छन ।

क्वारेन्टाइनमा बसेकाहरु रेल, ट्रक र पैदल हिडेर आएकाहरु रहेको उनले बताए । ‘क्वारेन्टाइमा रहेकाहरुमा केही खाडी मुलुकबाट आएकाहरु पनि छन ।’ उनले भने ‘धेरै चाही भारतबाट चोरबाटो हुँदै आएकाहरु छन ।’

भारतीय प्रहरीले नाकाबाट मान्छे आउन दिनथालेपछि स्थानीय प्रशासनले कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला भारतबाट प्रवेश गर्नेहरुलाई क्वारेन्टाइनमा राख्नका लागि सुरक्षा टोली परिचालन भएको बताए ।

Loading...