बुबालाई मारे, घरभित्रै खाल्डो खनेर गाडेर दाजुभाइले संगै रक्सी पिए

रगत लागेको सर्टले खुल्यो हत्याको कारण

विराटनगर, ८ जेठ । आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीलाई दुईजना छोरालाई पक्राउ गरेको छ । विराटनगर–१४ का ६९ वर्षीय सीताराम चौहानको हत्या आरोपमा दुई छोरा नागेन्द्र र रोहित चौहानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार शनिबार राति करिब ८ बजे मदिरा सेवन गरी घर पुगेका दुई छोराले बुबालाई कोदालो प्रहार गरी हत्या गरेका थिए ।

कसरी भयो हत्या ?

प्रहरीका अनुसार सीताराम चौहानमा तीनमध्ये कान्छा छोरा बेपत्ता छन् । उनी ठेला चलाउथे । लकडाउन यता उनले ठेला कुदाएका छैनन् । जेठा र माइला छोरा मजुदरी गर्दै आएका थिए । मजदुरीबाट कमाएको रकम बुबालाई पनि दिन्थे ।

शनिबार नागेन्द्र र रोहितले काम गरेको ठाउँबाट १८ सय र १६ सय रुपैयाँ पाएका थिए । सो रकमले कपडा खरिद गरेर उब्रिएको रकमले मदिरा सेवन गरे । घरमा बुबाले पैसा माग्ने र सम्झाइदिनका लागि रोहितले नगेन्द्रलाई पनि घर जान आग्रह गरे । दाजुको आग्रहमा उनी बुबालाई सम्झाउन संगै घर पुगेका थिए ।

घरमा बुबा छोराले पैसा ल्याउने आशमा थिए । घर पुग्दा नागेन्द्र बाहिर ढोकामा बसेका थिए । रोहित भित्र पस्दा बुबाले पैसा मागेका थिए । तर उनले पैसा छैन भन्ने जवाफ फर्काउँदा उनी रिसाए ।

पैसा नपाएपछि बुबाले दुईवटै छोरालाई गाली पनि गरेका थिए । बुबाले गाली गर्दा रोहित सुत्नलाई खाटमा गएका थिए । रोहित र सीताराम एउटै खाटमा सुत्दै आएका थिए । तर पैसा नपाएको रिसमा सीतारामले रोहितलाई खाटबाट लडाइदिए ।

लडाएको रिसले रोहितले कोदाले टिपेर बुबाको टाउकोमा प्रहार गरे । रोहितले कोदालो प्रहार गरेलगत्तै नागेन्द्रले पनि कोदालो प्रहार गरे । छोराले कोदालो प्रहार गर्दा ढलेका चौहानको घटनास्थलमै मृत्यु भएको थियो ।

आइतबार लास व्यवस्थापन गर्ने सल्लाहपछि माइला छोरा आफ्नो डेरा आए । जेठा छोरा घरकै बरण्डामा सुतेका थिए । आइतबार बिहानै रोहित नागेन्द्रलाई लिन उनको डेरा पुगेका थिए । घर पुगेर पालै पालो खाल्डो खनेर दाजुभाईले उज्यालो हुनुअघि नै बुबालाई पुरेका थिए । बुबाको लाशलाई खाल्डोमा पुरेपछि दुई दाजुभाईले मदिरा सेवन गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

रहस्य खुलाउन बुहारीको सहयोग

सीताराम खर्चका लागि बारम्बार नागेन्द्रको डेरामा आउँथे । तर उनी पछिल्लो चार दिनयता आएका थिएनन् । आइतबार बिहान नागेन्द्रले श्रीमतीलाई बुबाको हत्या गरेको सुनाएका थिए । तर एकै छिनपछि होइन भन्दै ढाँटेको प्रहरीको दाबी छ ।

मदिरा सेवन गरेका कारण श्रीमतीले वास्ता गरेकी थिइनन् । तर फोन गर्दा ससुराको फोन अफ भएपछि उनी बुधबार बुबालाई हेर्न घर पुगेकी थिइन् । घरमा पुगेकी उनले लुगामा रगत लागेको र घरभित्र खनिएको देखेपछि श्रीमान नागेन्द्रलाई लिएर इलाका प्रहरी कार्यालय रानी पुगेकी थिइन् ।

सूचना पाएलगत्तै रानी र जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेर खाल्डो उत्खनन गर्दा शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका दुई छोराले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

शव भेटिएको २४ घण्टा बित्न नपाउँदै प्रहरीले हत्यामा संलग्न आरोपीलाई सार्वजनिक गरेको हो ।

Loading...