१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् ।

भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै आएका १ सय २० जना नेपालीहरू विराटनगर–जोगबनी नाकाको भारततर्फ क्वारेन्टाइमा बसिरहेका छन् ।

क्वारेन्टाइमा बस्दै आएका नेपालीहरूमा ८ वैशाखदेखि बस्दै आएका विभिन्न जिल्लाका नेपालीहरू छन् । नाकामा आइपुगेका पश्चिम रुकुम घर भएका १४ जना नेपालीहरूलाई नेपाल प्रशासनको आग्रहमा भारतमा क्वारेन्टाइमा राखिएको थियो ।

त्यसपछि क्रमशः थपिँदै नाकामा आएर अलपत्र पर्ने नेपालीहरूको संख्या १ सय २० भन्दा बढी पुगिसकेको र उनीहरूलाई जोगबनीका स्कुल, मदर्सामा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको जोगबनीका हिन्दूस्तान दैनिक संवाददाता बरुण मीश्राले बताए ।

पत्रकार मीश्राका अनुसाार भारतले क्वारेन्टाइनमा खान बस्ने व्यावस्था गरेपनि कैयौँ दिन अनेक सास्ती झेल्दै यात्रा गरेर नाकामा आइपुगेका नेपालीहरू घर फर्कन छटपटाइरहेका छन् । उनीहरू मानसिक रूपले बिक्षिप्त छन् । क्वारेन्टाइनमा राखिएका नेपालीहरूमा एक दर्जन जति महिला र बालबालिकाहरू पनि छन् । क्वारेन्टाइनमा लामखुट्टे र चर्को गर्मीको समस्या उनीहरूले झेलिरहेका छन् ।

घर फर्कन पाए देशकै क्वारेन्टाइनमा बस्न आफूहरू तयार रहेको उनीहरूले बताउने गरेका छन् । प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मतकुमार कार्कीले भारतमा अलपत्र नेपालीहरूलाई देश भित्रयाउन संघीय सरकारले कार्ययोजना बनाइरहेको र चाँडै उनीहरूलाई घर फर्काउने बताए । उनका अनुसार विदेशबाट फर्कनेहरूलाई सुरक्षित राख्न जिल्लास्तरमा विशेष क्वारेन्टाइन प्रदेश नं १ सरकारले निर्माण गरिरहेको छ ।

Loading...