नेपाली समुदायलाई अपमान गरेको भन्दै अनुष्कालाई ‘लिगल नोटिस’

काठमाडौं, ८ जेठ । भारतीय सिरियल ‘पाताल लोक’मा नेपालीमाथि अपशब्द प्रयोग गरिएको विषयमा बलिउड अभिनेत्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’ पठाइएको छ ।

एक नेपाली महिला पात्रलाई गाली गर्नका लागि निकै नराम्रो शब्द प्रयोग गरिएपछि अनुष्कालाई सोमबार कानूनी पत्र पठाइएको जुमटिभी इन्टरटेन्टमेन्टमा उल्लेख गरिएको छ ।

कोरोना भाइरस महामारीबीच निःशुल्क कानूनी सल्लाह प्रदान गर्न गठन गरिएको लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले अनुष्कालाई उक्त नोटिस पठाएका हुन् ।

‘द क्वीन्ट’सँग कुराकानी गर्दै गुरुङले सिरिजको दोस्रो श्रृंखलामा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली समुदायको अपमान गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘त्यहाँ प्रयोग भएका शब्द पूरा नेपाली समुदायको लागि अपमानजनक छ । नेपाली शब्द प्रयोग नभएको भए केही समस्या हुुन्थेन । तर त्यस्तो अस्वीकार्य शब्द त्यहाँ प्रयोग गरिएको छ । त्यसैले सिरिजकी निर्मात्री अनुष्का शर्मालाई हामीले नोटिस पठाएका हौं ।’

अनुष्काले उक्त पत्रको जवाफ दिनुपर्ने र यसो नभएमा ओटीटी प्लेटफर्म र यसमा संलग्नविरुद्ध पनि कानूनी लडाइँमा जाने गुरुङको भनाइ छ ।

अमाजोन प्राइम सिरिजमा प्रसारण भइरहेको सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै नराम्रो शब्द प्रयोग गरिएको छ ।

‘पाताल लोक’मा जयदीप अहलावत, गुल पनाग, नीरज काबी, अभिषेक बनर्जी र स्वस्तिका मुखर्जीको मुख्य भूमिका छ ।

Loading...