छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या गरेको खुलेको हो ।

प्रहरीका अनुसार रक्सी खाएर झगडा गरेर बाबु चौहानको उनका जेठा र माइला छोरा मिलेर हत्या गरेका थिए । हत्यापछि उनीहरूले बाबुको शव घरभित्रै खाल्डा खनेर गाडिदिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्वराज अधिकारीका अनुसार बुधबार साँझ सत्यनारायणकै घरभित्रबाट माटोमा गाडेको बाबु सत्यनारायणको शव उत्खनन गरेर बरामद गरेको छ ।

बाबुको हत्या गर्ने जेठा र माइला छोरालाई पनि पक्राउ गरिसकेको छ । बाबुको हत्या गर्ने दुवै छोराहरूलाई मोरङ प्रहरीले दिउँसो २ बजे सार्वजनिक गर्दैछ ।

प्रहरीका अनुसार घरमा जेठा र माइला छोरासँगै बुबा सत्यनारायण बस्दै आएका थिए । कान्छा छोरा नगेन्द्र चौहान विराटनगरको भट्टिमोडमा बस्छन् ।

दैनिक खर्च माग्न आउने बाबु सत्यनारायण चार दिनदेखि नआएपछि कान्छा छोराले खोजी गर्दा घरभित्र खाल्डो खनेर पुरेको देखिएको थियो ।

त्यसपछि प्रहरीलाई खबर गरेर उत्खनन् गर्दा बाबुको शव बरामद भएको थियो ।

Loading...