सिरी ‘ए’ २० अगस्टभित्र सकेर सेप्टेम्बरबाट नयाँ सिजन थाल्ने तयारी

एजेन्सी, ८ जेठ । इटालियन फुटबल महासंघले कोरोना भाइरस महामारीका कारण स्थगित सिरी ‘ए’ आगामी २० अगस्टभित्र सक्ने तयारी थालेको छ ।

बुधबार महासंघले घरेलु फुटबलका शीर्ष तीन डिभिजनको लिग २० अगस्टभित्र सकेर सेप्टेम्बरबाट नयाँ सिजन थाल्न छलफल गरेको थियो ।

महासंघका प्रमुख ग्राबियल ग्राभिना, सिरी ‘ए’का अध्यक्ष पाउलो डाल पिनो र अन्य डिभिजनका प्रमुखले अबरुद्ध लिग तालिकाका विषयमा छलफल गरेका थिए ।

जसमा, महासंघले सिरी ‘ए’को नयाँ सिजन १ सेप्टेम्बरबाटै सुरु गर्ने तयारी गरेको छ ।

छलफलपछि विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘आगामी २० अगस्टभित्रमा सबै लिग सक्ने तथा सन् २०२०–२१ को खेल सिजन १ सेप्टेम्बरबाट सुरु गर्ने सहमती बनेको छ ।’

महासंघले कोपा इटालियासमेत अगस्ट महिनाको अन्त्यसम्ममा सक्नेगरी अघि बढ्ने अनुमति दिएको छ ।

इटाली सरकारले फुटबल लिग सिरी ‘ए’ सुचारुबारे अन्तिम निर्णय २८ मेमा गर्ने भएको छ ।

इटालीका खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले मंगलबार इटालियन फुटबल संघ र सिरी ‘ए’ सँग आफ्नो छलफलको मिति तय भइसकेको र यसबारे आधिकारीक सूचना २८ मेमा सार्वजनिक गर्ने बताएका हुन् ।

इटालीयन फुटबल लिग सिरी ‘ए’ ९ मार्चबाट स्थगित भएको थियो ।

Loading...