सुरुआती चरणमै बुन्डेसलिगाका १४ खेलाडी घाइते

एजेन्सी, ७ जेठ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित जर्मन बुन्डेसलिगा शनिबारबाट सुचारु भयो । गत मार्चबाट स्थगित लिग करिब २ महिनापछि सुचारु भएको थियो ।

कोरोना प्रकोपका कारण बेल्जियमको लिग र फ्रान्सको लिग वान रद्द भएको अवस्थामा सुचारु हुने बुन्डेसलिगा पहिलो युरोपको शीर्ष डिभिजनको लिगसमेत बन्यो ।

फ्रान्सको लिग वान केही दिन अगाडि नै पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई च्याम्पियन घोषणा गर्दै रद्द गरिएको हो भने क्लब ब्रुगलाई विजेता घोषणा गर्दै बेल्जियमको लिग शुक्रबार रद्द गरिएको हो ।

महामारीका कारण स्थगन भइ पुनः सुचारु भएको जर्मनीका शीर्ष दुई डिभिजन लिग बुडेसलिगाको पहिलो चरणमै १४ खेलाडी घाइते भएका छन् । स्पेनिस मिडिया मार्काका अनुसार शीर्ष डिभिजनको बुन्डेसलिगाका १२ र दोस्रो डिभिजनको बुन्डेसलिगाका २ गरी १४ जना घाइते भएका हुन् ।

यसमा उपाधि दाबेदार मानिएको बोरुसिया डर्टमुण्ड र होफेनहमलाई धेरै असर परेको छ । डर्टमुण्डका थोर्गान हाजार्ड र जियोभानी रेना घाइते बनेका छन् भने होफेनहमका सेबास्टिन रुडी र इह्लास बेबाउले चोट बोकेका छन् ।

१६ मे पछि सुचारु भएको बुन्डेसलिगाका नौ खेल सकिएका छन् । खेलिएका कूल खेलमध्ये ६ खेलका स्पष्ट नतिजा छन् भने ३ खेल बराबरीमा टुङगिएका छन् । घरेलु मैदानमा खेलिएका खेलमा डर्टमुण्ड एकमात्र अपराजित रहने टोली बनेको छ ।

घरेलु मैदानमा साल्खेविरुद्ध उत्रिएको डर्टमन्डले ४–० को भारी अन्तरले खेल आफ्नो पक्षमा पारेको थियो । डर्टमन्डको जितमा इयर्लिङ हालाण्डले एक, राफेल गुएरेरोले दुई तथा थोर्गन हार्जाडले एक गोल गरेका थिए ।

२६औं चरणका खेलहरुका सकिँदा ५८ अंकसहित बार्यन म्युनिख बुन्डेसलिगा तालिकाको शीर्ष स्थानमा छ भने चार अंक कम रहेको डर्टमुन्ड दोस्रो स्थानमा छ ।

Loading...