आर्थिक संकट र फिटनेश नेपाली रेफ्रीका मुख्य समस्या : किरण गिरि

नेपाली खेलकुद गतिविधि यतिबेला कोरोना महामारीका कारण ठप्प छ । खेलकुदलाई नै पेशा, व्यवसाय बनाएर जीवन निर्वाह गरी रहेका मानिसहरू निकै प्रभावित बनेका छन् । विशेषगरी नेपाली फुटबल क्षेत्रमा रेफ्रीको भूमिका निर्वाह गरेर यसलाई नै आफ्नो जीवन धान्ने पेशाको रूपमा अपनाएका नेपाली रेफ्रीहरू लकडाउनमा झन मारमा परेका छन् ।

लकडाउनका कारण नेपाली रेफ्रीहरूलाई के–कस्तो समस्या परिरहेको छ र यतिबेला खेलाडी, प्रशिक्षक र रेफ्रीहरू कसरी फिट रहने भन्ने विषयमा पूर्वसहायक फिफा रेफ्री तथा फिटनेस ट्रेनर किरण गिरिसँग गरीएको विशेष कुराकानीः

हाल नेपालमा फिफा रेफ्रीहरूको संख्या कति छ ?

फिफा रेफ्री र सहायक फिफा रेफ्री दुवै गरेर अहिले नेपालमा कूल १२ फिफा रेफ्रीहरू हुनुहुन्छ, जसमध्ये १० पुरुष र दुई महिला हुनुहुन्छ । यसबाहेक नेपालमा पहिलो श्रेणीका ३० रेफ्री र ३० सहायक रेफ्रीहरू हुनुहुन्छ ।

लकडाउनमा सबै क्षेत्र नै प्रभावित छ, यस्तो बेला नेपाली फुटबल रेफ्रीहरूको अवस्थाचाहिँ कस्तो छ ?

शुक्रबार मात्र पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका सबै फिफा रेफ्रीहरूसँग मेरो ‘जुम’ एप्समार्फत कुरा भएको थियो । यतिबेला हामी सबै कुनै न कुनै किसिमले प्रभावित भइ नै रहेका छौं र यस्तो बेलामा नेपाली रेफ्रीहरू अछुतो रहने कुरा त हुँदै भएन । लम्बिँदो लकडाउनले हामी सबैलाई बिस्तारै आर्थिक संकटतर्फ धकेल्दै छ र हाम्रो फिटनेशमा पनि असर पुर्‍याउँदै छ ।

विशेषतः नेपाली फुटबल रेफ्रीहरूलाई कस्तो समस्या परिरहेको छ ?

मुख्य कुरा, रेफ्री पेशा जागिर हैन । एउटा रेफ्रीले कति म्याच खेलाउँछ त्यहीँअनुसार नै उसले आम्दानी गर्ने हो । फेरि जतिबेला लकडाउन भयो त्यो बेला भनेको फुटबलको ‘पिक’ सिजन थियो । नेपाली फुटबल क्यालेन्डरलाई आधार मान्ने हो भने दसैंदेखि जेठसम्म नेपाली फुटबलको पिक सिजन हो । र यस्तो बेला नै फुटबल बन्द भएपछि फुटबलबाट नै कमाएर खाने हामीजस्तो मान्छेलाई त समस्या परिहाल्यो नि । विस्तारै लकडाउन पनि लम्बिरहेको छ, यसले झनै हामीलाई आर्थिक समस्या हुन थालेको छ ।

नेपाली रेफ्री तथा फिटनेश ट्रेनरहरूलाई लकडाउनमा केही समस्या परे सम्पर्क गर्नुहोला भनेर तपाईंलगायत केही मानिसहरुको सम्पर्क नम्बर सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ, समस्यामा परेकाहरूलाई कस्तो सहयोग गर्नुहुन्छ ?

अहिलेको अवस्था भनेको सबै सहयोगी हुने बेला हो । म आज सहयोग गरिरहेको छु, भोलि मैले नै सहयोग माग्नपर्ने हुन सक्छ त्यसैले हामी पूर्व फुटबल रेफ्रीहरू मिलेर सुरु गरेको सहयोग हो यो । यसमा हामीलाई सम्पर्क गर्नु हुने मानिसको परिचय गोप्य राखेर वहाँलाई हामीले कसरी हुन्छ त्यसरी नै सहयोग गर्ने गरेको छौं ।

के–कस्तो सहयोग गरिरहनु भएको छ र हालसम्म कति जनाले सहयोग लिई सक्नु भयो ?

यति जनाले सहयोग लिनुभयो भनेर हामीले सार्वजनिक नगर्ने निर्णय गरेको हुनाले मैले यो कुरा सार्वजनिक गर्न चाहिँन । अब सहयोगको कुरा गर्ने हो भने, यतिबेला मानिसलाई परिरहेको मुख्य समस्या भनेको आर्थिक र खाद्यान्न हो । त्यसैले हामीसँग जसले सहयोग माग्नुहुन्छ वहाँहरूलाई हामीले आर्थिक, खाद्यान्न वा दुवै सहयोग गरिरहेका छौं ।

नेपाली फुटबल क्षेत्रसँग सम्बन्धित निकाय अखिल नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले नेपाली फुटबल रेफ्रीहरूको लागि भनेर अहिलेसम्म केही व्यवस्था गरिदिएको छ ?

यतिबेला सबैलाई समस्या परिरहेको छ । मानिसलाई मात्र हैन संस्था, राष्ट्र सबै कोरोना महामारीको प्रभावमा परिरहेको छ । सम्बन्धित निकाय भएकाले यस्तो संकटको बेलामा सहयोग गरोस् भन्ने ईच्छा त हुन्छ नै तर अहिलेसम्म फुटबल रेफ्रीकै लागि भनेर केही व्यवस्था गरिएको छैन ।

फिफाले कोरोनाविरुद्ध लड्न सहयोग गरेको रकम एन्फामा आएको छ अब हेरौं केही सहयोग हुन्छ कि ! सहयोगको एकदमै खाँचो परेको रेफ्रीहरूको नामावली पठाइदिनु भन्ने निर्देशन माथिबाट आएपछि भने प्रदेश नं १ का केही रेफ्रीहरूको नाम पठाई दिइसकेको छु ।

एकदमै फिट रहनुपर्ने पेशामध्ये रेफ्री पनि एक हो, लकडाउनले रेफ्रीको फिटनेशमा कत्तिको समस्या पारिरहेको छ ?

खेलाडी जत्तिकै फुटबलमा रेफ्रीको फिटनेशले पनि उत्तिकै महत्त्व राख्छ । तपाईं फिट रहनु भएन भने तपाई कसरी मैदानमा दौडिनु हुन्छ ? त्यसैले, हामी फुटबल रेफ्री फिट रहन एकदमै आवश्यक हुन्छ तर लकडाउनले गर्दा अहिले हामी घरबाहिर निस्किन सक्ने अवस्था छैन । मैदानमा गएर वर्कआउट गर्ने, जिम जाने सक्ने स्थिति पनि छैन त्यसैले फिटनेशमा समस्या त परि नै रहेको छ ।

फिट रहन तपाईंलगायत नेपालका रेफ्रीहरूचाहिँ के गर्दै हुनुहुन्छ ?

फिफाले एलेभन प्लस व्यायाम गर्न विश्वभरिका सबै फिफा रेफ्री, पूर्व फिफा रेफ्री र फिटनेश प्रशिक्षकहरूलाई सूचना जारी गरेको छ । फिटनेश प्रशिक्षक भएको नाताले एलेभन प्लसअन्तर्गतका इन्ज्युरी प्रिभेन्सन प्रोगामभित्रका व्यायामहरू गर्नु भनेर भिडियो कलमार्पmत सबै रेफ्रीहरुलाई मैले सुझाव दिएको छु । यस प्रोगामभित्रका व्यायामहरू मानिसले एउटा कोठाभित्रै पनि गर्न सक्ने भएकाले लकडाउनको बेला यो एकदमै उपर्युक्त छ ।

फिफा, पहिलो र दोस्रो श्रेणी र ग्रासरुट सबै तहका रेफ्रीहरूले यो प्रोगाम अभ्यासका क्रममा पहिले पनि गरिसकेकाले पनि अहिलेको लागि फिट रहन यो व्यायाम नै सही छ ।

यो प्रोगामले फिट रहन कत्तिको मद्दत गर्छ ?

यसले फिट रहनभन्दा पनि मानिसलाई शारीरिक कष्ट सहन सक्ने क्षमता बढाउने हो । फिट रहन त सही मात्रमा पोषणयुक्त खाना र नियमित व्यायाम एकदमै जरुरी हुन्छ जुन अहिलेको अवस्थामा अलि असम्भव छ । तर, यो व्यायाम गरिरहने हो भने केही हदसम्म फिट त भइन्छ नै साथै भोलिको दिनमा हामी मैदानमा उत्रँदा शरीरमा आउनसक्ने पीडालाई पनि एकदमै कम गर्छ ।

यसबाहेक अन्य शारीरिक अभ्यास गर्ने र आफ्नो खाने बानीलाई नियन्त्रण गर्ने हो भने फिट रहन सकिन्छ ।

विश्वका अन्य देशका फुटबल बिस्तारै तंग्रिदैछ, कोरोना कहरपछि नेपाली फुटबल क्षेत्र कसरी अघि बढ्नुपर्छ ?

हामी घरमा थुनिएर बसेको लगभग दुई महिना भइसक्यो । कोरोना कहरपछि मैदान उत्रिने खेलाडीहरूमा शारीरिक, मानिसक समस्या आउन सक्छ । यस्तो अवस्थामा राष्ट्रिय तथा अन्य क्लबका खेलाडीहरूलाई प्रशिक्षकले सहजीकरण गरिदिनसक्नुपर्छ । स्थिती सामान्य हुन केही समय पक्कै लाग्छ त्यस्तो बेलामा नआत्तिई क्रमिक रूपमा अघि बढ्नुपर्छ । खेलाडीहरूले पनि आफ्नो आत्मवल कमजोर बनाउन हुँदैन, अरुबेलाभन्दा केही बढी परिश्रम गरे आफ्नो पहिलेको अवस्थामा पक्कै पुग्न सकिन्छ ।

अब नेपालको समग्र फुटबल क्षेत्रको कुरा गर्ने हो भने हामीसँग नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालय छ । सबैको समन्वयमा कसरी अघि बढ्दा सहज हुन्छ, नेपाली फुटबललाई फाइदा हुन्छ त्यहीअनुसार बढ्नुपर्छ ।

फिटनेश ट्रेनर हुनुहुन्छ, कसरी फिट रहने भन्ने प्रश्न खेलाडीले कत्तिको गर्ने गरेका छन् ?

मसँग सम्पर्कमा रहनुभएका खेलाडी, रेफ्री साथै अन्य महानुभावहरूले फिटनेश टिप्सबारे प्रश्न गरिरहनुभएको छ । मैले जानेसम्म, ज्ञानले भ्याएसम्म सबैलाई सुझाव दिइरहेको छु । लकडाउनको पालना गर्दै घरमै बसेर फिट रहन सक्ने व्यायाम गर्ने सल्लाह, सुझाव दिने गरेको छु ।

लामो समयदेखि लकडाउन भइरहेको छ, यो समयलाई कसरी सदुपयोग गरिरहनु भएको छ ?

फुटबल रेफ्री भनेको एकदमै अपडेट र फिट रहनुपर्ने पेशा हो । त्यसैले यो समयमा पनि फिट रहन दैनिक व्यायाम गर्ने गरेको छु । कोरोना महामारीका कारण भर्खरै मात्र फिफाले केही फुटबल नियमहरू परिवर्तन, परिमार्जन गरेको छ, त्यसको अध्ययन पनि गरिरहेको छु । फुटबल नियमसम्बन्धी लेख, किताब अध्ययन र भिडियो हेर्ने गरेको छु । सहयोग अभियानका लागि सबैसँग सम्पर्क गर्ने र आवश्यक परेकाहरूलाई सहयोग गर्ने काम पनि भइ नै रहेको छ ।

प्रस्तुति – शिवहाङ राई

Loading...