दलित उत्थानका लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

विराटनगर, ७ जेठ । उत्पीडित दलितहरूको जीवनस्तर उठाउन, दैनिक जीवनमा गरिबी तथा विभेदकै कारण समस्या भोग्नुपर्ने बाध्यताको अन्त्य गर्न र दलितहरूको समग्र उत्थान विकासका लागि बजेटको व्यवस्था गरीदिन माग गर्दै दलित समुदायका संस्थाहरूले ज्ञापन पत्र बुझाएका छन् ।

आर्थिक वञ्चितीकरण र गरिबीकै कारण दलित समुदायको जीवन कष्टकर बन्दै गइरहेको व्यहोरा अवगत गराउँदै दैनिक जीवनमा दलितमाथि हुने सबै किसिमको विभेद, वहिस्करण र छुवाछुत–भेदभाव को अन्त्यका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायको लागि पनि पारीत गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझाउने संस्थाहरुमा दलित नेटवर्क प्रदेश नं १ दलित गैरसकारी सँस्था महासघ , दलित पत्रकार संघ प्रदेश नं १ , दलित सचेतना समाज लगायत ४० वटा रहेका छन ।

विज्ञप्तिमा प्रदेश १ को दलित समस्याको बस्तुनिष्ट अध्ययन तथा पहिचान गर्न हरेक वर्ष आयोजना हुँदै आएको प्रदेश दलित संसदको लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको उल्लेख छ ।

साथै कोरोना महामारीका कारण रोजगारी गुमाएर आउँने लाखौं युवाहरूलाई रोजगारी दिन प्रदेश १ को हरेक जिल्लामा दलित समुदायको परम्परागत सीप प्रवर्द्धन र प्रदेश स्तरमा एक सीप विकास तालिम केन्द्रको स्थापना गर्न बजेट विनियोजन गर्न माग गरिएको छ ।

यसैगरी कृषि व्यवसायमा अनुदानको व्यवस्था गर्नुपर्ने, होटल, डेरी र फ्रेस हाउसलगायत उद्यमहरूका लागि आवश्यक तालिम र अनुदानका लागि बजेट विनियोजन गर्न, दलित समुदायमा शिक्षा, स्वास्थ्य, रोजगारीको कुरालाई मध्येनजर गर्दै एक जिल्लमा एक सुविधायुक्त अस्पताल, लोकसेवा आयोग साथै अन्य विद्यागत क्षेत्रमा क्षमता अभिवृद्धिका लागि एमबिबिएस, प्रहरी, वकालत आदि कक्षा सञ्चालन गर्न बजेट विनियोजन गर्न माग गरिएको छ ।

महामारीबाट रोजगारी गुमाउने, न्यूनतम जीवनयापन गर्नेलाई सहायता कार्यक्रमसहित वार्षिक १ लाख २० हजार नगद दिने व्यवस्था गर्न, दलित समुदायको ऐतिहासिक कला, संस्कृति, भेषभूषा तथा प्रविधि अनुपम संरक्षण गर्न प्रदेशस्तरमा दलित संग्रालय स्थापनाका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।

यस्तै छुवाछुत प्रथाको पूर्णरुपमा अन्त्य गर्न राज्यको लक्ष्यलाई सफल पार्न सन् २०२० देखि २०३० सम्मलाई दलित समुदायको सशक्तीकरण, विकास र समृद्धिका लागि आगामी नीति तथा कार्यक्रममा दलित अधिकार दशक घोषणा गरी कार्यक्रमिक रूपमा बजेटको विनियोजन गर्न माग गरिएको छ ।

बजेटमा कार्यक्रम शमावेश गर्नकालागि प्रदेश नं १ सरकारका सबै मन्त्रालयहरुमा पनि बोधार्थ पठाएका छन ।

आगामी बजेटमा कार्यक्रम शमावेश गर्नकालागि प्रदेश नं १ सरकारका सबै मन्त्रालयहरुमा पनि बोधार्थ पठाएको दलित नेटवर्क प्रदेश नं १ का अध्यक्ष डिबी शाह संकरले बताए ।

Loading...