यस्ता छन् राहतका प्रकार

किरण चापागाईं

राहत समय समयमा नेपालीको मुखमा सामाजिक सञ्जालमा आइरहने शब्द हो । नेपाली शब्दकोषअनुसार प्राकृतिक प्रकोपमा परेकाहरूको वा दुःखीहरूको उद्वारको निम्ति गरिने क्रियाकलाप हो ।

तर सरकार, सामाजिक संस्था, राजनीतिक दलको सामाजिक सञ्जालमा देखिएको राहत कार्यक्रमले गर्दा राहत धेरै किसिमको हुने रहेछ भन्ने थाहा पाएँ । मैले थाहा पाएसम्मको राहतको किसिमको व्याख्या गर्ने कोशिश गरेको छु ।

१. फोटे राहत

यो राहत अहिले सबैभन्दा चर्चामा रहेको राहत कार्यक्रम हो । यो राहतको लागि दुःखी पीडितलाई दिने राहत त्यति आवस्यक पर्दैन राम्रो क्यामरा वा फोन र राम्रो फोटो खिचिदिने मान्छे आवश्यक पर्दछ । यस राहतमा एक कोसो केरा दुई–तीन प्याकेट बिस्कुट एउटा गम्छा जति राहत अत्याधिक हुन्छ । तर राहत कर्ताहरू दर्जनौँ हुन सक्छन्, सबैले छोरीलाई कन्यादान दिएजसरी राहतलाई छोएर फोटो खिच्छन् । एउटालाई दिइएको राहतको फोटो हजुरले १०–१५ जनाको सामाजिक सञ्जालको वालमा भेटाउनु हुनेछ ।

२. अदृश्य राहत

यो राहत फोटे राहत भन्दा निकै फरक छ । रास्ट्रमा कुनै विपत्ति आइपर्नेबित्तिकै समाजमा रहेका आफैंले आफैंलाई मभन्दा गतिलो छैन भन्ने बोक्रे भलाद्मीले फुइँ लगाउने राहत कार्यक्रम हो । यी सबै पनि प्रचारमुखी नै हुन्छन् तर यीनीहरू फेसबुक र ट्वीटरको भित्तामा प्रचार हुनभन्दा पनि समाचारका शीर्षक हुन मन पराउँछन् ।

यो राहत बडा अचम्मको राहत हो । छन पनि छ, हुन पनि हो, खोज्दा पनि पाइँदैन तरिकाको राहत हो यो । बिपत्ति आउनेबित्तिकै मेरोतर्फबाट यति–उति सहयोग भनेर कराउँछन् समाचार बन्छन् अनि हराउँछन्

३. व्यापारिक राहत

यो अन्तर्राष्ट्रिय लेभलको राहत कार्यक्रम हो । यस राहतमा रास्ट्रमा रहेका हरेक ब्राण्डहरूले यो बिपत्तिमा हामी जनताको साथ छौँ भनेर देखाउने किसिमको काम हुन्छ । जस्तै बैंकहरू निःशुल्क खाता पीडितलाई भनेर आउँछन् । चाउचाउ, बिस्कुट कम्पनीहरू हरेक एक प्याकेट बाट रु १ पीडितलाई भनेर आउँछन् । कुनै कुनैले कुपनमा लाखौँ पर्ने र जीवन सहज हुने किसिमका अफर नै चलाउँछन् । तर पीडितले के पाए त भन्ने कुरा न पीडित लाई थाहा हुन्छ न समाजलाई ।

४. संस्थागत राहत

यो राहतलाइ फोटे राहत र अदृश्य राहतको संगमको रूपमा लिन सकिन्छ । समाजमा नाम चलेका संस्थाको राहत कार्यक्रम यसअन्तर्गत पर्दछ । हात्तीको मुखमा जीरा फ्यालेर टनका टन फ्यालेको जसरी समाचार र सामाजिक सञ्जालमा वाहवाह बटुलेर संस्थाको चर्चा कमाउने ‘निन्जाटेक्निक’ वाला राहत भन्न सक्छौँ ।

५. राजनैतिक राहत

नेपाल जस्तो धेरै अल्पविकसित देशमा यो लोकप्रिय राहत कार्यक्रम हो । यो राहतको सीमा नजिकै कुनै चुनाब छ कि छैन भन्ने विषयमा निर्भर रहन्छ । फलाना पार्टीले यति दियो हामी त्योभन्दा धेरै दिन्छौँ भन्ने प्रतिस्पर्धा यो राहतमा हुने गर्छ ।

तर राहत पाउन तपाईं राहत बाँड्ने पार्टीको कुनै न कुनै नेतासँग परिचित अथवा तपाईंले आउने चुनावमा राहत बाँड्ने पार्टीलाई नै भोट दिनुहुन्छ भन्ने विस्वास दिलाउन जरुरी हुनेछ ।

६. अमूल्य राहत

यो राहत माथि व्याख्या गरेको राहतभन्दा बिल्कुल फरक किसिमको राहत हो । माथि उल्लेखित हरेक राहत प्रचारमुखी हुन्छन् भने यो भरसक गुपचुप राख्न पाए भन्ने किसिमको राहत हो । यो सरकारको राहतकोषमा विदेशी संस्था र ठूला कम्पनीहरूले दिएको अनुदान राहत हो ।

दैविक प्रकोप आउँछ राहत पनि आउँछ पीडित सामान्य जीवनमा फर्किसक्छ तर पनि उक्त राहत वितरण हुँदैन । बिस्तारै त्यो राहत हुनेखाने पहुँचवालाको आफन्तको घर पुग्छ । केही समयपछि कुहिएको कीरा परेको भन्ने समाचार आएर राहत सकिन्छ ।

७. वास्तविक राहत

यो राहत बास्तवमै पीडितलाई उद्दार गर्ने राहत कार्यक्रम हो । पीडितको आत्मसम्मानलाई कदर गर्दै प्रकोपबाट सामान्य दैनिकीमा पीडितलाई फर्काउन उस्लाई आवश्यक वस्तु प्रदान गर्नु नै यो राहतको पहिचान हो । केही व्यक्ति संस्थाहरू यी किसिमको राहत वितरण पनि गर्दै छन् ।

सामाजिक सञ्जालमा यो गरेँ त्यो गरेँ भन्नू विज्ञापन हो राहत हैन केही भुलचुक भए सुधारेर पढ्नु होला यो कसैप्रति लक्षित छैन लक्षित लागे म म भन्नुहोला धन्यवाद ।

Loading...