रियल, बार्यन र इन्टर सम्मेलित युरोपियन सोलिडारिटी कप

एजेन्सी, ७ जेठ । स्पेनिस क्लब रियल मेड्रिड, जर्मन जाईन्ट्स बार्यन म्युनिख र इटालियन क्लब इन्टर मिलान सम्मेलित त्रिदेशीय युरोपियन सोलिडारिटी कप आयोजना हुने भएको छ ।

२०२१ मा आयोजना हुन लागेको प्रतियोगिताले युरोपका मानिसहरूमा एकता र भातृत्त्वको सन्देश दिने अपेक्षा राखिएको छ । यो प्रतियोगिता युरोपका तीन भिन्न शहर मड्रिड, म्युनिख र मिलानमा आयोजना गरिने छ ।

प्रतियोगिताको मिति भने हालसम्म तोकिएको छैन । आगामी वर्षको फुटबल क्यालेन्डर र रंगशालामा दर्शक उपस्थित भएर खेल हेर्न सक्ने स्थिती सिर्जना भएपछि मात्र प्रतियोगिताको मिति सार्वजनिक गरिने भएको छ ।

प्रतियोगितामा हुने भनिएका तीन खेलमध्ये रियल मड्रिड र इन्टर मिलानबीचको खेल रियलको मैदानमा हुनेछ । यस्तै, इन्टरविरुद्ध बार्यन सैन सिरो रंगशालामा उत्रँदा बार्यन भर्सेज रियलको खेल भने बार्यनको घरेलु मैदान एलिएन्ज एरेनामा खेलाइने छ ।

सोलिडारिटी कपबाट जम्मा हुन आउने रकम इटाली र स्पेनमा स्वास्थ्य सामाग्री खरिदका लागि खर्च गरिनेछ । रियल मड्रिडले जारी गरेको विज्ञप्तिमा महामारीविरुद्ध अंग्रपक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई खेलिने हरेक खेलमा विशेष रूपमा प्रतिनिधित्व गराइनेछ ।

महामारी नियन्त्रण, रोकथाम र संक्रमितका उपचारमा खटिएका सबै मानिसहरूप्रति आदर, कृतज्ञता र सम्मान गर्न यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

Loading...