सिरी ‘ए’ सुचारुबारे निर्णय, २८ मेबाट सुरु हुने

एजेन्सी, ७ जेठ । इटाली सरकारले फुटबल लिग सिरी ‘ए’ सुचारुबारे अन्तिम निर्णय २८ मेमा गर्ने भएको छ ।

इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले मंगलबार स्थानीय सञ्चारमाध्यम ‘राई’सँगको कुराकानीमा इटालियन फुटबल संघ र सिरी ‘ए’ सँग आफ्नो छलफलको मिती तय भइसकेको र यसबारे आधिकारीक सूचना २८ मेमा सार्वजनिक गर्ने बताएका छन् ।

मन्त्री स्पाडाफोरा भन्छन्, ‘लिग सुचारु गर्ने वा नगर्ने विषयमा हामीलाई चाहिने सबै विवरण प्राप्त भइसकेको छ र यसबारे चाँडै निर्णय हुन्छ तपाईहरु धैर्य गर्नुहोला ।’

लिग सुचारुबारे घोषणा नगरे पनि मन्त्री स्पाडाफोराले क्लबहरूलाई सामूहिक प्रशिक्षण गर्नका लागि भने मंगलबार नै अनुमति दिएका छन् ।

इटालीयन फुटबल लिग सिरी ‘ए’ ९ मार्चबाट स्थगित भएको थियो ।

सहभागी क्लबहरुले १३ जुनबाट नै लिग सुचारु गराउने पक्षमा मे महिनाको पहिलो साता मतदान गरेका थिए ।

तर, इटाली सरकारले खेलकुद क्षेत्रमा लगाएको प्रतिबन्ध १४ जुनसम्म लम्बाएको कारण क्लबहरूले भनेकै मितिमा लिग सुचारु नहुने निश्चित देखिन्छ ।

Loading...