कोरोना महामारीको कारण ६ करोड मानिस चरम गरीबीको जोखिममा पर्ने विश्व बैंकको चेतावनी

एजेन्सी, ७ जेठ । विश्व बैंकले कोरोना भाइरसको महामारीको कारण विश्वभरि थप ६ करोडभन्दा धेरै मानिस चरम गरिबीको चपेटामा पर्ने बताएको छ ।

विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण बैंकले विश्वव्यापी आर्थिक वृद्धि यस वर्ष ५ प्रतिशतले संकुचित हुनसक्ने बताएका छन् ।

यसका कारणले लाखौं मानिसले रोजगार गुमाउनुका साथै लाखौँ व्यापार व्यवसाय असफल भएका छन् र गरिब देशहरूले दिक्क महशुस गरेका छन् ।

लाखौं जीविकोपार्जन ध्वस्त भएसँगै स्वास्थ्य सेवाहरू विश्वव्यापी रूपमा तनावमा रहेको मालपासले बताए ।

“हाम्रो अनुमान छ कि करिब ६ करोड मानिसहरू चरम गरिबीमा धकेलिनेछन्, जसले गर्दा विगत तीन वर्षमा गरिबी निवारणमा भएका सबै प्रगतिहरू मेटाउँछ ।” मालपासले मंगलबार चेतावनी दिए ।

विश्व बैंकले प्रतिदिन प्रतिव्यक्ति १।९० डलरभन्दा कममा जीविकोपर्जन गर्ने जीवनलाई चरम गरीबीको रूपमा परिभाषित गर्दछ ।

विश्व बैंकले महामारीको कारण उत्पन्न हुने आर्थिक संकट कम गर्न एक सयवटा विकासशील देशका लागि १ सय ६० अर्ब डलरको सहायता दिने घोषणा पनि गरेको छ ।

यो सहायता कार्यक्रम १५ महिनासम्म चल्ने जनाइएको छ । यी एक सय देशमा विश्वको ७० प्रतिशत र धेरैजसो अफ्रिकी देश रहेको पनि विश्व बैंकले जनाएको छ ।

सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहेका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

Loading...