टायसन भर्सेज होलीफिल्ड

एजेन्सी, ७ जेठ । यो वर्ष अर्थात वर्ष २०२० को बहुप्रतिक्षित बक्सिङ भिडन्तमध्ये एक हो, दुई पूर्व विश्व च्याम्पियन होलीफिल्ड र टायसनबीचको भिडन्त ।

पूर्व विश्व च्याम्पियन इभेन्डर होलीफिल्ड र माइक टायसन यो वर्ष आमने–सामने हुने चर्चा निकै अघिदेखि चल्दै आइरहेको छ ।

खेल पत्रिका मार्काका अनुसार १९९७ को अविस्मरणीय भिडन्तको सम्झनामा यी दुई पुनः भिडन्तका लागि तयार भएका हुन् ।

प्रतिक्षित भिडन्त कहिले हुन्छ भत्रे प्रश्न उब्जिरहेको बेला हालसालै यी दुई पूर्व च्याम्पियनका अनुहारसहित पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा जुलाई ११, डिरिया, साउदी अरेबिया लेखिएको छ ।

हुने भनिएको भिडन्तको बारे व्यवस्थापन पक्षबाट थप केही कुरा नखुलाइएको भए पनि पोस्टर सार्वजनिक हुनेबित्तिकै यो कुराले अन्तर्राष्ट्रिय मिडियामा राम्रो स्थान बनाएको छ ।

५७ वर्षीय होलीफिल्ड र ५३ वर्षीय टायसनले केही साताअघि मात्र च्यारिटीका लागि हुने भनिएको भिडन्तका लागि आफूहरू रिङमा आउन तयार रहेको बताएका थिए ।

१९९७ मा यी दुईबीच भएको भिडन्तमा टायसनले होलीफिल्डको कान टोकिदिएका थिए ।

कान टोकिदिएका कारण टायसनलाई अयोग्य ठहर गर्दै नेवाडा राज्यले उनको बक्सिङ लाइसेन्स खारेज गरिदिएको थियो । यद्यपि, टायसनले लाइसेन्स भने पुनः प्राप्त गरेका थिए ।

च्यारिटी बक्सिङ भिडन्तका आयोजक एवम् व्यवस्थापन पक्षका अनुसार यो भिडन्त त्यहीँ १९९७ मा यी दुई विश्व च्याम्पियनबीच भएको भिडन्तको पुनः भिडन्त हो ।

Loading...