Rumpum Advertisement
Dazzu

अग्रज भोटु दाइ अर्थात् प्रमोद दाइ रक्तिम अभिवादन !

अग्रज भोटु दाइ अर्थात् प्रमोद दाइ रक्तिम अभिवादन !
ऋतु आशिक

इटहरीबाट बिहानै दुर्गा फुयाँलको फोन थियो । फोनमा भनिरहेका थिए “दाजु आउनोस् प्रमोद दाइ खस्नु भयो” मैले सोधेँ “कहिले ?” उनको जवाफ थियो “हिजो राति ९ बजेतिर ।”
“उहाँलाई कहाँ राखिएको छ ?”
“श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेसम्म नगरपालिकामा राखिने भएको छ ।”
मैले भनेँ “काली भाइ कहाँ छ” प्रति उत्तरमा नगरपालिकातिरै ।
म नगरपालिकातिरै आउँदैछु भनेर फोन राखिदिएँ ।
इटहरी चोकबाट म नगरपालिकातिर हान्निएँ । चोकैमा काका मयुरध्वज फुयाँल र काकी भेटिए । उहाँहरूको खुट्टा स्पर्श गरेँ । काकीले आँखा रसिला पार्दै भन्नुभयो “सम्पत्ति नकमाएर के भयो प्रमोदले मान्छे कति कमाएका रहेछन् ।”

नगरपालिकाको गेट बाहिर प्रमोद दाइलाई श्रद्धाञ्जली दिएर फर्कदै गरेको मधु रिमालसँग अचानक जम्काभेट भयो । आँखाको डिलमा आँसु ल्याउँदै भन्यो, “एउटा साथी हामीबाट गयो, तँ जा पुगेर आइज ।” म प्रमोद दाइलाई राखिएको स्थलतर्फ हान्निएँ । काजी भाइ पनि त्यहीँ उभिरहेको थियो । छेउमा थुपारिएको फूलको ढेरीबाट मैले र काजीले फूल टिप्याैँ । उहाँको शवमाथि फूल राखेर ढोग्यौं । हाम्रो श्रद्धेय प्रमोद दाइलाई उनी, मस्त निन्द्रामा सुतिरहेको देख्यौं ।

छेउमै उभिएको कुमार सुब्बाले कराउँदै भन्यो “इटहरी कहिले फर्किन्छस् नम्बर त लगि सकिस् ।” प्रत्युत्तरमा भनेँ “हो म चाँडै इटहरी फर्किदैछु ।”

पञ्चायती क्रुर समयमा पनि इटहरीका युवाहरू पञ्चायतको काँचको घरमा प्रयोग गरिएको काँटी (पेच किल्ला) र कब्जाहरू उप्काउने प्रयासमा लागिरहे । असमानताको विरोधमा प्रजातन्त्रको नाउँमा चलेको एकतन्त्रको विरोधमा र इटहरीमा जमेर बसेको अज्ञानता हटाउने काममा युवाहरू लागिरहे । उनीहरू कवि गोष्ठिमा भाग लिन धरान, विराटनगर पुगे । पत्रिका निकाले, जसरी भए पनि अज्ञानता हटाउने काममा लागिरहे । कविताको माध्यमद्वारा इटहरीको शिर ठाडो बनाउन यज्ञप्रकाश अधिकारी, रमेशकुमार विष्ट, प्रमोदकुमार श्रेष्ठ, अधुरोकुमार अधिकारी, बसन्त सुवेदी, शेरबहादुर अम्बर, श्यामभाइ गौतम, ऋतुवर्ण आसीक लागेको पाइन्छ ।

(कृष्णविनोद लम्साल इटहरी स्मारिका पेज २२/२०५६)

कसैको मृत्यु प्वाँखभन्दा पनि हलुको हुन्छ । कसैको मृत्यु पहाडभन्दा पनि गरुङ्गो हुन्छ । प्रमोद दाइको मृत्यु इटहरीवासी र हामी अनुयायीका लागि पहाडभन्दा पनि गरुङ्गो भएको छ । इटहरी नगरपालिकाको प्राङ्गणमा राखिएको शवमाथि श्रद्धाञ्जली गर्नेहरूको ताँतीबाट पनि के बुझ्न सकिन्छ भने प्रमोद दाइ निकै लोकप्रिय हुनुहुन्थ्यो । प्रमोद दाइको व्यवहार सरल र शालिन थियो । उहाँको व्यवहार पूर्वाग्रही र काइते कसैसँग पनि भएन ।

प्रमोद दाइ त्यसबेलादेखि कम्युनिष्ट विचारधारातर्फ आकर्षित हुनुभयो र आफ्नो प्रतिवद्धता जनाउनुभयो जुनबेला पञ्चायती शासनको दबदबा थियो । पञ्चायती यातनाको चेम्बर थियो । त्यस्तो विषम परिस्थितिमा पनि आफूलाई कम्युनिष्ट भन्न मन पराउनुभयो । उहाँले तडकभडकको जीवन रोज्नुभएन । अन्य सबै माझमा आफूलाई चिडको बोट झैं कम्युनिष्ट आस्थाप्रति अडिग र अटल राख्नुभयो । जुन अटलता मृत्युपर्यन्तसम्म कायम राख्नुभयो ।

इटहरीको कचना महादेवको किसान सोभियतमानको मोहियानीहकलाई छुटाउने षडयन्त्रका विरुद्धमा हामी डटेर लागेका थियौं । त्यसमा प्रमोद दाइको भूमिका अग्रपंक्तिमा रह्यो । त्यतिमात्रै होइन, कुनै साहित्यिक तथा जनसभा जस्ता कार्यक्रममा पनि उहाँको नेतृत्त्वदायी भूमिका रहन्थ्यो । हामीलाई ऊर्जा दिने कार्यमा जहिले पनि अग्रभागमा रहनुभयो । कुनै सांस्कृतिक कार्यक्रम वा कुनै शीर्षस्थ नेताहरूको सम्बोधन होस् उहाँको स्फूर्त नेतृत्त्वदायी भूमिका रह्यो । ती दिनहरूमा उहाँले आफूलाई कहिल्यै अलग्याउने कोशिश गर्नुभएन ।

इटहरी टेङरा खोलाको छेउमा २०३६ सालमा नेपालमा नै पहिलोपल्ट आयोजना गरिएको जनमत संग्रहको घोषणापछिको आमसभाको तयारीको सहभागिताका लागि प्रमोद दाइ खट्नुभएको थियो । उहाँको त्यो खटाई हामी सबैका लागि प्रेरणादायी भएको थियो । हामी सबैलाई ऊर्जा दिनुहुन्थ्यो । पार्टीका प्रत्येक कार्य, जिम्मेवारीका साथ लगनशील भएर गर्न भन्नुहुन्थ्यो÷गर्नुहुन्थ्यो । त्यसबेला इटहरीका युवाहरू पूर्व माक्र्सवादी समूहसँग नै आवद्ध थियौं ।

आमाका ती शब्दलाई भोटु दाइले अक्षरशः पालना गरेर मलाई काठको पाटी बोकाएर तत्कालीन राधाकृष्ण मन्दिरतर्फ लानुभएको थियो । तत्कालीन स्कूल भनेको नै राधाकृष्ण मन्दिर हुन्थ्यो । पछिपछि हालको इटहरी नगरपालिकास्थित आँपको बगैंचामा पनि पढाई हुन थाल्यो । जनता माध्यमिक विद्यालयको स्थापनाको लागि श्री राधाप्रसाद रिजाल, श्री प्रेमलाल पटवारी, श्री डम्बरबहादुर बस्नेत, श्री चैतुलाल चौधरी, श्री प्रेमबहादुर कार्की, श्री लक्ष्मण चौधरी आदिको अतुलनीय योगदान छ । उहाँहरूको योगदानलाई बिर्सने हो भने इटहरीको शैक्षिक स्थिति शून्यमा परिणत हुन्छ भन्दा अतिशयोक्ति नहोला ।

ठ्याक्कै मिति याद नभए पनि मलाई सम्झना छ –राधाप्रसाद रिजालको घरमा मलाई, प्रमोद दाइलाई र अन्य साथीहरूलाई, सायद लालबहादुरलाई पनि बोलाइएको थियो । त्यसबेला म ७ कक्षामा प्रथम भएको थिएँ । त्यसबेला इटहरी बजार विकास समितिबाट बाँडिएको कप अझै पनि मसँग सुरक्षित छ । त्यसबेला स्कूले विद्यार्थीलाई लामवद्ध बसाएर आँपको भोज ख्वाउनुभएको थियो । विद्यार्थीहरू माझमा खाइएको आँपको स्वाद अझैं मेरो जिब्रोले बिर्सिएको छैन ।

गर्मी याम थियो । आँप बगैंचामा साना–साना चिचिला आँप लटरम्म फलेको थियो । पोखरीको डिलैमा आँपका, सिसौका रुख थिए । आँप तथा सिसौको गाछीमा चढेर हामफाल्नु सजिलो थियो । त्यसबेला भोटु दाइ, कुमार, म, कृष्ण, हरि, गोपाल, वीरबहादुर, अशोक, मधु, लेखनाथ, सालिग्राम, धु्रव, भूपाल, विष्णु डाङ्गी, उमेश, चण्डिका, नारायण आदि साथी–साथी थियौं । मैले सबैको नाम सम्झिन सकेको छैन । छुट भएमा क्षमा चाहन्छु । त्यसबेला हामी सबै साना थियौं । भोटु दाइ मात्रै ठूलो हुनुहुन्थ्यो । अहिलेका जस्ता बाक्ला रुखहरु थिएनन् । पोखरी एउटा सुनसान तथा शान्त ठाउँमा थियो । त्यसबेला भोटु दाइले कट्टु खोलेर पोखरीमा हाम फाल्नुभयो । हामी सबैले उहाँको सिको गर्‍यौं । यसरी बाल्यकाल बितेको क्षणको सम्झना अझ मेरो मानसपटलमा छाइरहेको छ ।

जब–जब हाम्रो स्कुले वार्षिक जाँच समाप्त हुन्थ्यो, तब–जब हामी केही दिनका लागि फुर्सत हुन्थ्यौं । स्कूलको शैक्षिक सत्र पुस्तक पसलमा पुस्तक क्रय गरेर मात्र सुरु हुन्थ्यो । बुढी खोलामा बयर पाकेर लटरम्म हुन्थ्यो । त्यसबेला खेलकुद सामाग्री नगण्य रूपमा हुन्थे । त्यसबेला समग्रमा इटहरी क्षेत्रकै आर्थिक स्थिति रुग्ण थियो । हामीले पुराना बाल्टीका कडीलाई कामीकोमा लगेर पिटाउँथ्यौं । भोटु दाइ, कुमार, मधु, हरि, गोपाल, कृष्ण, श्याम, गोपाल, काजीलाल, वीरबहादुर, नीरबहादुर, लालबहादुर, ध्रुव, भूपाल, जुद्धबीर, कौशल, खेलनारायण, लेखनाथ आदि लामबद्ध भएर गाडी कुदाउँदै बयर खान जान्थ्यौं । ती बयर खान जाने दिनहरू हाम्रो कौतुहल र हर्षको सिर्काले छुताछुल्ल भएको दिन हुने गर्थ्यो ।

स्कूले जीवनमा नै थाहै नपाई हामीले पूर्व कोशी माक्र्सवादीसँग सम्बन्ध गाँसिसकेको कुरा अहिले सम्झन्छु । एक पटकको कुरा हो । कुनै प्रसङ्ग र विषयलाई लिएर म र भोटु दाइबीच बोलचाल बन्द भयो । तत्कालीन माक्र्सवादी पार्टीले सायद धरानबाट एउटा समाचार उहाँसमक्ष पुर्‍याउन मलाई खटायो । म त्यसबेला तरहरामा बसेको थिएँ । (साल र समय बिर्सेँ) मैले पाकेको खाना छोडेर उहाँलाई त्यो खामबन्दी पत्र पुर्‍याउन आएँ । जुन खामबन्दी पत्र उहाँले पढ्नुभयो । उहाँले झन् हतार गर्नुभयो । उहाँको खाना हामी दुवैले बाँडेर खायौं । हतारहतार विराटनगरतर्फ लाग्नुभयो । उहाँले हाँस्दै भन्नुभएको थियो – “साना–साना कुरामा पनि रिसाउनु हुन्छ ? तैंले आज यो पत्र समयमै ल्याएर राम्रो काम गरिस् ।” मैले स्याबासी पाएँ । मैले चिठ्ठीमा के लेखेको कुरा जान्न पनि चाहिनँ । ती कुराहरू अनुशासन बाहिरका कुरा थिए । मेरो र उहाँबीच फेरि बोलचाल सुरु भयो ।

प्रमोद दाइको सबल पक्ष

प्रमोद दाइको मार्क्सवादीप्रतिको समर्पण अथाह थियो । जब–जब इटहरी गाविसको अध्यक्षमा बहुमतद्वारा निर्वाचित हुनुभयो विजय अभियानको क्रममा उहाँले वार्ड घुम्नुभयो । मेरो इटहरी–२ स्थित आँपगाछीको घरमा आउनुभयो । मैले प्रमोद दाइलाई त्यसैबेला भनेको थिएँ – “तपाईं बम देवान जस्तो नहुनुहोला ।” प्रत्युत्तरमा उहाँले भन्नुभयो “म बम देवान त होइन नि !” मैले मनमनै कामना गरेँ, उहाँले अभिव्यक्त गरे जस्तै हुनुभएको होस् ।

पार्टीले कुनै पनि समयमा अराएको काम निष्ठापूर्वक गर्नुहुन्थ्यो । कुनै पनि गाह्रो सजिलो हुँदैनथ्यो । पद बाँडफाँडको झमेलामा कहिल्यै अल्झिनु भएन । गाविसको उम्मेदवार हुन झण्डै वञ्चित गरिएको थियो । प्रमोद दाइको पक्षमा अभिमन्यूको रूपमा भाइ काजीलाल फुयाँल चिडको बोटझैं अडिएपछि पार्टीले विवश भएर उहाँलाई उम्मेदवार दिन राजी भएको थियो । हामीमध्ये एकजनाले जो एमालेका छन् ती मित्रले प्रमोद दाइको बारेमा टिप्पणी गर्दै भनेका थिए –“प्रमोद दाइ पतन नभई मेरो कसरी उदय हुन्छ ?” उनको त्यो अभिव्यक्ति सुनेर म तीनछक्क परेको छु । अझै पनि ती व्यक्तिप्रति मेरो घृणाभाव त्यही रूपमा बगिरहेको छ । आवश्यक परेमा कुनै दिन तिनको नाउँ सार्वजनिक गर्नेछु ।

हामीले कहिल्यै पनि आफ्नो उन्नतिका लागि आफ्नै साथीलाई झुक्याएर, उमाथि चढेर, माथि उक्लिने कल्पना गरेका थिएनौं । हाम्रो त्यो सपना पनि थिएन । अमुक व्यक्तिले मेरो अगाडि भनेको कुरा भनेर मैले काजीभाई र स्वयं प्रमोद दाइलाई जानकारी गराएको थिएँ । प्रमोद दाइलाई उसको आचरण र व्यवहारसित शंका लागेर सहजरूपमा लिएर भन्नुभएको थियो । “तँ र काजीभाइको व्यवहार र आचरणको मलाई गर्व छ ।” प्रमोद दाइका यी शब्दले आत्मविभोर भएर द्रवित भएको थिएँ । इटहरीमा हुने विभिन्न कार्यक्रममा हामी सीमित युवाहरू थियौं । हाम्रो दृढता, निश्चियता र गन्तव्य विन्दुको ठेगान थियो । हामीले जे काम गरे पनि सफलता पाउँथ्यौं । हाम्रा काम कारवाही सामूहिक भएर नै उठ्ने कोशिश गर्‍यौं । त्यसबेला हाम्रो यो समूहलाई देख्दा इटहरीवासी गर्व गर्थे र आदरपूर्वक हामीसँग व्यवहार गर्दथे । प्रमोद दाइको अगुवाइबाट जहिले पनि हामीले प्रेरणा र ऊर्जा प्राप्त गरिरह्यौं । त्यो प्रेरणा निरन्तर रह्यो ।

प्रमोद दाइको जीवनशैली कम्युनिष्ट भएको दिनदेखि जीवनको अन्तिम क्षणसम्म पनि सादा नै थियो । कम्युनिष्ट शैलीमा नै उहाँ बाँच्नुभयो । विभिन्न लोभ लालचभन्दा माथि उठेर आफ्नो निष्ठा र प्रतिवद्धताप्रति अडिग रहनुभयो । उहाँको शैली एउटै थियो । बेला–बेला भन्नुहुन्थ्यो –“संसारमा विभिन्न उतारचढाव आएता पनि म कम्युनिष्ट भएर बाँचूँ र कम्युनिष्ट भएर मृत्युवरण गरूँ ! मलाई त्यति भएर पुग्छ ।”

प्रमोद दाइका दुर्बल पक्ष

एकपटक प्रमोद दाइले भन्नुभएको थियो “ऋतु मैले पिउन छोडिदिएँ नि !” मैले व्यङ्य गर्दै प्रतिप्रश्न गरेको थिएँ, के त्यस्तो उल्कापात भयो तपाईंले दुरुङ्गपानी पनि छोड्नुपर्‍यो ? उहाँले गम्भीर भएर भन्नुभयो,– “मेरो केही कथं तलमाथि भयो भने त मेरा छोराछोरीको त बिजोक हुन्छ होला है ?” मैले भनेको थिएँ “जे होस् पिउन छोड्नुभयो हाम्रो लागि चैं खुशीको कुरा हो ।” यही कुरा काजीभाइसँग गर्नुभएको रहेछ ।

जीवनका कुनै कालखण्डमा एमाले कम्युनिष्ट पार्टीका केही खराब आचरण भएका नामधारी कम्युनिष्टसँगको उठबसले गर्दा फेरि पिउन थाल्नुभएछ । मलाई कसैले भनेको थियो “ज्यादा पिएर प्रमोद दाइ लड्नुभएछ ।” केही घृणित व्यक्तिसँगको उठबसले उहाँको चरित्रलाई ताछ्ने र खुइल्याउने काम गरेको थियो । उहाँ चिन्तन र अध्ययनको पाटोमा अलिक कमजोर हुनुभयो । कतिपयले उहाँलाई आफ्ना अनुकूल प्रयोग गरे । उहाँ कसैको प्रयोगधर्मी हुनुभयो । कसैको सम्पत्ति कमाउने मेशिन हुनुभयो ।

जब उहाँलाई अभिनन्दन गरियो । अभिनन्दनको नाममा जीवनको अन्तिम क्षणमासमेत एमाले नामको पार्टीले उहाँप्रति बेइमानी, अपमान, घृणा र तिरस्कार गर्‍यो । तर पनि उहाँले विरोध गर्नुभएन । मान र अपमानलाई छुट्याउन सक्नुभएन । यी नै उहाँका दुर्वल पक्षहरू थिए ।

प्रमोद दाइ आस्थाका पहाड

मान्छे जन्मिन्छ, मर्छ यो ध्रुव सत्य हो । मृत्यु सत्य हो हामीले स्वीकार गर्नुपर्छ । स्टालिनको मृत्युपछि लेखाजोखा गर्दा उहाँको जीवनमा उहाँले ६० प्रतिशत गल्ती गर्नुभएको थाहा भएको थियो । माओले पनि जीवनमा ३० प्रतिशत गल्ती गर्नुभएको थियो । जीवनमा प्रत्येक व्यक्तिबाट गल्ती भएका हुन्छन् । प्रमोद दाइ असल व्यक्ति हुँदाहुँदै पनि गल्ती भएका छन् । ती गल्तीको छिनोफानो भविष्यले गर्नेछ । प्रमोद दाइको सत्संगले म आज जहाँ छु त्यसको केही अंश प्रमोद दाइबाट प्राप्त भएकै हुन भन्दा मैले लाज मान्नुपर्ने ठाउँ छैन ।

उहाँसँगको सत्संग मेरो निम्ति गर्वको कुरा हो । उहाँ मेरो आदर्श व्यक्तित्वको रूपमा रहनुभयो । कम्युनिष्ट पार्टीको नाम र पदसँग साटेर आर्थिक जीवन उकास्नेतिर लाग्नुभएन । जीवनको उचाई उक्लँदो उभार सुन्दर तामाङको घर, धरोहरको रूपमा रहेको छ । उहाँले भ्रष्टाचार गर्नुभएन । कम्युनिष्ट जीवनप्रतिको प्रतिवद्धता हिजो जुन रुपमा थियो मृत्युवरण गर्दा पनि त्यही रूपमा रह्यो । प्रमोद दाइ मेरो आस्थाको पुञ्ज हुनुहुन्थ्यो । मेरो आस्थाको धरोहर हुनुहुन्थ्यो । उहाँ कम्युनिष्ट भएर बाँच्नु भयो । कम्युनिष्ट भएर मर्नुभयो ।

अन्तमा म तपाईंको सम्मानमा अन्तर्राष्ट्रिय गीत गन्गुनाउदै हावामा मुठ्ठी बजार्दै भन्न चाहन्छु ।

मेरो श्रद्धेय भोटु दाइ रक्तिम अभिवादन !
मेरा श्रद्धेय प्रमोद दाइ लाल सलाम !

७ मंसिर २०६१
[email protected]