पीएसजी पनि हालाण्ड भित्र्याउने दाउमा, रियल मडिडलाई चुनौती

एजेन्सी, ७ जेठ । स्पेनिस क्लब रियल मड्रिडले नर्वेजियन स्टार इयर्लिङ हालाण्डलाई सन् २०२२ सम्ममा अनुबन्ध गर्ने योजना बनाएको बताइन्छ ।

तर, रियल मड्रिडलाई चुनौती दिँदै फ्रान्सेली च्याम्पियन पीएसजी पनि हालाण्ड भित्र्याउने दौडमा सामेल भएको छ ।

रियल र पीएसजीबीच खेलाडी अनुबन्धमा हुने प्रतिस्पर्धा फेरि पनि दोहोरिएको छ ।

यसअघि फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई भित्र्याउन पनि यी दुईले प्रतिस्पर्धा गरेका थिए, जसमा बाजी पीएसजीले मारेको थियो ।

अब, यी दुईले जर्मन क्लब बोरुसिया डर्टमुण्डका स्ट्राइकर हालाण्डका लागि पनि दौड लगाएको स्पेनिस खेलपत्रिका ‘मार्का’ले जनाएको छ ।

मार्कामा मंगलबार प्रकाशित समाचारअनुसार हालाण्डलाई भित्र्याउनका लागि दुवै क्लब दौडमा रहेका छन् ।

सम्झौता सकिन अझ दुई वर्ष रहेको अवस्थामा एम्बाप्पे रियलसँग जोडिएपछि पीएसजीले हालाण्ड भित्र्याउने योजना बनाएको बताइन्छ ।

पीएसजीमा एम्बाप्पेसँगै नेयमार, इडिन्सन काभानी, माउरो इकार्डीलगायतका खेलाडी क्लब छोड्ने चर्चामा रहेका छन् ।

यता, हालाण्डमाथि भने पीएसजी र रियल मड्रिड मात्र नभएर अन्य क्लबको पनि नजर रहेको छ ।

गत जनवरीमा २० मिलियन युरोमा अष्ट्रियन क्लब साल्जबर्गबाट जर्मनी आएका उनलाई थुप्रै क्लबले अनुबन्ध गर्ने योजना बनाएका छन् ।

Loading...