प्रदेश सांसद , कर्मचारी , सुरक्षाकर्मी र पत्रकारहरुको स्वाब परीक्षण गरिने

विराटनगर , ६ जेठ । प्रदेश नंम्बर १ को प्रदेश सभाका सबै सांसद , कर्मचारी , सुरक्षाकर्मी र पत्रकारहरुको थ्रोट स्वाब संकलन गरिने भएको छ ।

यही १४ जेठदेखी प्रदेश सभामा बजेट अधिवेशन सञ्चालन हुने भएकोले कोरोना भाइरस संक्रमण पत्ता लगाउन परीक्षणकालागि सबै कर्मचारी , सुरक्षाकर्मी , सांसद र पत्रकारहरुको स्वाब संकलन गरिने भएको हो ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार बजेट अधिवेशनको बैठक सञ्चालन हुनु अगाडी नै परीक्षण प्रतिबेदन प्राप्त हुनेगरि प्रदेश सरकार मार्फत सबैको स्वाब परीक्षण गराउने व्यवस्था मिलाइएको छ ।

जसअनुसार ८ जेठमा प्रदेश सभा सचिवालयका कर्मचारीहरुको ९ र १० जेठमा सांसदहरुको प्रदेश सभामा नियमित समाचार संकलनमा आउने संसदिय मामिला हेर्ने पत्रकारहरुको थ्रोट स्वाब परीक्षण हुनेछ ।

कोरोना पोजेटिभ पाइएमा सांसद , पत्रकार , कर्मचारी कसैले पनि प्रदेश सभामा प्रवेश पाउनेछैनन ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश नं १ प्रदेश सभामा जम्मा ९३ जना सांसद एक सय कर्मचारीहरु दुई दर्जन सुरक्षाकर्मी , २० भन्दा बढी सांसदहरुका चालक र अंगरक्षक्षक अनि संसदिय मामिला रिर्पोटिङ गर्ने २० जना पत्रकारहरुको स्वाब परीक्षण हुनेछ ।

बजेट अधिबेशनको बैठक प्रदेश सभाको पुरानै हलमा भौतिक दुरी कायम गरेर बस्नेछ । त्यसकालागि पुराना कुर्सीहरु हटाएर नयाँ कुर्सीहरु राखिएका छन ।

यसैगरि प्रदेश सभा परिसरमा टेन्ट लगाएर समाजिक दुरी कायम गराएर हाजिर गर्ने व्यवस्था मिलाइने । बजेट अधिवेशनको समयमा प्रत्येकलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिनेछ ।

Loading...