समस्या महिनावारीको

महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो । समान्यतयाः किशोरी अवस्थामा पुगेपछि महिनावारी सुरु हुन्छ र पहिलो पटक भएको महिनावारीलाई मेनार्की भनिन्छ ।

मेनार्कीदेखि मेनोपाउज् (महिनावारी सुकेको अवस्था) सम्म अधिकाशं महिलाहरू महिनावारीको समयमा दुखाई सहन बाध्य छन् ।

महिनावारीको यस्ता पीडाका कारण करिब ९० प्रतिशत बढी महिला चिन्तित हुन्छन् भन्ने अध्ययनहरूले देखाएको छ ।

महिनावारी एउटा शारिरिक समान्य प्रक्रिया भए पनि यस प्रक्रियामा विभिन्न किसिमका गडबडि आउने गर्छन् । महिनावारी समयमा नहुने, धेरै दिन वा धेरै हुने, रगतका चोक्टाहरूजाने, यस समयमा अत्याधिक दुखाई हुने मात्र होइन, कसैकसैलाई महिनावारी नभएर पनि पीडा हुने गर्छन् ।

अधिकाशं किशोरीहरूमा महिनावारी समयमा नहुने, कम रगत जाने, तथा अत्याधिक दुखाइ हुने समस्या बढी हुने गरेको पाइन्छ भने उमेर पुगेको महिलाहरूमा धेरै रगत जाने वा धेरै दिनसम्म रगत जाने समस्या बढी हुने गरेको पाइन्छ ।

१७ वर्षीया ममता तिम्सिना ११ कक्षामा अध्ययनरत छिन् । हाल उनी महिनावारीको समस्याबाट पीडित छिन् । महिनावारी सुरु भएको ३–४ वर्ष नपुग्दै उनको महिनावारी रोकिएको छ ।

महिनावारी सुरु भइसकेको किशोरीको एक्काशी महिनावारी रोकिँदा गर्भवती पो भयो कि ? भन्ने डर वा त्राश उनी आफैँलाई पनि भयो ।

महिनावारी रोकिएको कारण जे भए पनि उमेर पुगेको महिलामा गर्भको कुरा नै पहिले आउने गरेको यर्थात् रहेकोले धेरैलाई यस्तो मानसिक तनाव हुने गर्छ ।

कति किशोरी तथा उनका अभिभावकहरूलाई यस्तो समस्याको कारणपछि गर्भ नै नरहने हो कि भन्ने डर पनि रहने गरेको पाइन्छ । महिनावारी रोकिने वा नहुने अवस्थालाई एमेनोरिया भनिन्छ । यो विभिन्न कारण तथा अवस्थाहरूमा हुने गर्छन् ।

पाठेघर तथा अन्डाशयमा दुई किसिमका हर्मोनहरू (ओस्ट्रोजन र प्रोजेस्ट्रोन) को उत्पादन हुने हुन्छ । यी दुई हर्मोनहरूले पाठेघरको संकुचन (कन्ट्राक्सन) तथा यसका भित्री तह (इन्डोमेट्रियम) बनाउन, भत्काउन तथा महिनावारी गराउनेमा ठूलो भूमिका खेलेका हुन्छन् ।

यी हर्मोनहरूको उत्पादन पाठेघर र अण्डाशयमा भएता पनि यसको उत्पादनको नियन्त्रण मष्तिष्कमा रहेको हाईपोथालामश् र पिट्युटरी ग्रण्थीको एन्टेरियर लोबले गरिरहेका हुन्छन् ।

महिनावारी हुनुमा यी हर्मोनहरूबाहेक पोषण, वंशाणुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका रहेको हुन्छ । समान्यतयाः अण्डाशयले उत्पादन गरेको अण्डको निक्षेदन अर्थात् फर्टिलाईजेशन नभएपछि पाठेघरको भित्री तह (इन्डोेमेट्रियम) टुक्रिने हुन्छ र महिनावारी हुन्छ ।

किशोर अवस्थामा कसैकसैमा पाठेघरको परिपक्कता ढिलो हुने तथा यी हर्मोनहरूको उत्पादनमा सन्तुलन कायम नहुने हुन्छ । यसै कारणले गर्दा पाठेघरको अत्याधिक बढी संकुचन (कन्ट्राक्सन) हुने तथा बढी तल्लो पेट दुख्ने पनि हुन सक्छ ।

केही किशोरीहरूमा यी हर्मोनहरूको सन्तुलनमा कमी तथा अण्डा उत्पादनमा आएको ढिलाइले एमेनोरिया हुने गरेको पाइन्छ । थाईराड ग्रन्थी, मोटोपन तथा जस्ता समस्याले पनि एमोनेरिया गराउन सक्छ ।

त्यस्तै किशोरीहरूमा देखिने अर्को प्रमुख महिनावारीको समस्या हो, डिस्मेनोरिया । महिनावारी भएको तल्लो पेटको दुखाइ हुनु सामान्य हो ।

महिनावारीको बेला भएको पाठेघरको संकुचन र पाठेघरको भित्री तह ईन्डोमेट्रियम टुक्रेर निष्कासन हुने प्रोस्टाग्लान्डिन जस्ता न्युरोट्रास्मिटरहरुले गर्दा हुने गर्छन् ।

पीडितको दैनिक गतिविधि नै अबरोध गर्ने गरी हुने तल्लो पेटको दुखाइलाई डिस्मेनोरिया भनिन्छ । यस्तो किसिमको पीडा तल्लोपेट, कम्मर, ढाडको तल्लो भाग वा तीघ्रातिर समेत दुख्न सक्छ । समान्यतयाः किशोरीहरूमा हर्मोनल असन्तुलनले गर्दा डिस्मेनोरेजिया हुने गर्छन् ।

कसैकसैलाई महिनावारी सुरु हुनुभन्दा अगाडिदेखि नै पेट फुलेजस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन हुने, प्यास लाग्ने, खानाखाने रुचि कम हुने तथा गोडा वा अन्य भाग सुनिने जस्ता समस्या आउन सक्छन् । यस्तो समस्यालाई ‘प्रिमेन्स्च्रुयल टेन्सन सिन्ड्रेम’ भनिन्छ ।

कसैकसैलाई महिनावारीको समयमा अत्याधिक रक्तश्राव हुने तथा लामो समयसम्म रक्तश्राव हुने हुन्छ । अत्याधिक रक्तश्रावकै कारण कमजोरी महशुश गर्ने, चक्कर लाग्ने, वान्ता हुने गर्छ ।

यस किसिमका समस्या किशोरीभन्दा पनि पाको उमेरका महिलाहरूमा बढी देखिने हुन्छ । महिनावारीमा हुने यस्तो समस्याहरू मेनोरेजिया वा मेटोमेनोरेजिया हुन सक्छ । यस किसिमका समस्याको पछाडि धेरै कारणहरू हुन सक्छ । अधिकाशं अवस्थामा हर्मोनहरूको असन्तुलन, पाठेघरको खराबी (फाईबरोईड) ले यस किसिमका समस्या देखिने हुन्छ ।

कसैकसैलाई परिवार नियोजनका लागि लिने गरेको ३ महिने सुईले पनि मेनोरेजिया हुने गरेको पाइन्छ । अत्याधिक रक्तश्राव हुनुका पछाडि केही गम्भीर कारणहरू (क्यान्सर) पनि हुन सक्ने भएकाले यस्तो बेलामा परिक्षण गर्न ढिला गर्नु हुँदैन ।

महिनावारी भइरहँदा मात्र महिलाहरूमा समस्याहरू देखिने र महिनावारी सुकिसकेपछि आनन्द हुने पनि छैन । समान्यतयाः ४५ वर्ष पार गरिसकेपछि महिनावारी सुक्ने हुन्छ । यस अवस्थालाई मेनोपाउज् भनिन्छ ।

मेनोपाउज् हुने उमेर सबैमा एउटै हुन्छ भन्न सकिँदैन् । मेनोपाउज् हुने उमेरमा पनि उनको शारीरिक अवस्था, स्वास्थ्य, पोषण, वंशाणुगत तथा वातावरणीय पक्षको ठूलो भूमिका रहेको हुन्छ ।

मेनापाउज् भएपछि वा हुने क्रममा इस्ट्रोजन हर्मोनको कमी हुने हुन्छ । त्यसै कारणले उनीहरूमा हड्डीहरू बढी खिइने तथा जोर्नीहरूको दुखाई बढ्ने हुन्छ । त्यस्तै यस्ता महिलाहरूमा मुटुका समस्या बढ्ने, योनीमार्ग सुख्खा हुने, जिउ बढी तातिने, मुटुको ढुकढुकी बढ्ने, तनाब महशुश गर्ने तथा कमजोर महशुश गर्ने हुन्छन् । यस्तो समस्याहरूलाई मेनोपाउजल सिन्ड्रम भनिन्छ ।

कसलाई उपचार चाहिन्छ ?

महिनावारीमा समान्य समस्या आउनेबित्तिकै आतिनु पर्ने हुँदैन । किशोर अवस्थामा महिनावारि अर्थात रजश्वलाको बारेमा धेरै जानकारी नभएर पनि धेरै किशोरीहरूलाई मानसिक तनाव हुने गर्छ ।

अझ यसमा समान्य अप्ठयारा तथा समस्या आउनेबित्तिकै किशारीहरू तथा उनका अभिभावकहरू चिन्तित हुने गर्छन् । महिनावारी महिलाहरूमा हुने समान्य प्रतिक्रिया भएतापनि कसै कसैमा मात्र पीडादायक हुने गर्छन् । महिनावारी पीडादायक भयो भन्दैमा आत्तिनु हुँदैन ।

धेरै दुखाइ अर्थात् डिस्मेनोरिया भएको अवस्थामा सामान्य दुखाइ कम गर्ने औषधिहरू प्रयोग गर्न सकिन्छ ।

बारम्बार यस्तो समस्या भइरहेमा तथा समान्य दुखाइको औंषधि खाए पनि आराम नभएको अवस्थामा चिकित्सकको सल्लाहबमोजिम विभिन्न परिषणहरू गर्नुका साथै लामो समयसम्म केही औषधिहरू सेवन गर्नुपर्ने हुन सक्छ ।

त्यस्तै धेरै रगत जाने समस्या अर्थात् मेनोरेजिया भएको अवस्थामा तुरुन्त उपचार चाहिने हुन्छ । यस अवस्थामा एकातिर मेनारेजियाको कारण पत्ता लगाउनु पर्छ भने अर्कातिर शरीरमा रगत मात्रा कम हुन नदिन तुरुन्त रक्तश्राव रोक्ने र रगत बढ्न आइरन चक्की प्रयोग गर्नुपर्ने हुन सक्छ ।

यस अवस्थामा पनि चिकित्सकको सल्लाहबमोजिम विभिन्न परिषणहरू गर्नुका साथै लामो समयसम्म केही औषधिहरू सेवन गर्नुपर्ने हुन सक्छ ।

किशोर अवस्थामा भएको एमेनोरिया अर्थात् महिनावारी रोकिएमा खासै औषधिको प्रयोग गर्नु नपर्ने पनि हुन सक्छ । उमेर बढ्दै गएपछि अण्डा उत्पादनमा आउने नियमितता र हर्मोनल सन्तुलनले गर्दा महिनावारी आफैँ नियमित हुने हुन्छ ।

त्यस्तै परिवार नियोजनका साधनहरू (३ महिने सुई, नरप्लान्ट) प्रयोग गरेको अवस्थामा पनि महिनावारी रोकिएकोमा आत्तिनु पर्दैन । कसैकसैमा यस अवस्थामा पनि गर्भ रहेकाले महिनावारी रोकिएको हुनसक्ने भएकोले गर्भको परीक्षण गर्न ढिला गर्नु हुँदैन । लामो समयसम्म महिनावारी रोकिएमा वा अनियमित भएका चिकित्सकको सल्लाह वा परार्मश लिनु तथा अन्य परीक्षणहरू गर्नुपर्ने हुन्छ ।

महिनावारी भएको समयमा सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

सफा र सुकिलो प्याड प्रयोग गर्नु, गुप्ताङ्ग सफा राख्नु तथा नियमित नुहाउनु आवश्यक हुन्छ । यस अवस्थामा पोषिलो तथा प्रशस्त मात्रामा झोलकुराहरू सेवन गर्नुपर्छ ।

महिनावारी सुकेका महिलाहरुले नियमित स्वास्थ्य परीक्षणमा जोड दिनुपर्छ । यस्ता महिलाहरूले दूध तथा क्याल्सियम जस्ता खनिज तत्त्व पाइने खानेकुरा बढी सेवन गर्नुपर्छ ।

मेनापाउजल सिन्ड्रमले दुःख दिएको अवस्थामा केही औषधिहरू सेवन गरिरहनुपर्ने हुन सक्छ । यस्ता महिलाहरूको योनीमार्ग सुख्खा हुने भएकोले संक्रमणबाट जोगिन सरसफाइमा विशेष ध्यान पु¥याउनुसँगै आवश्यक परीक्षण पनि गर्नुपर्ने हुन सक्छ ।

Loading...