लकडाउनमा शीलादेवीको परिवारमा पुनर्मिलन, सबैका आँखा रसाए

बबिता लिम्बू
विराटनगर, ६ जेठ । मानवसेवा आश्रम विराटनगरले अलपत्र अवस्थामा फेला परेकी महिलालाई पुनर्मिलन गराएको छ । रंगेली ६ भन्सार टोलकी शीलादेवी सहनीलाई आश्रमले परिवारमा पुनर्मिलन गराएको हो ।

वृद्ध अवस्थाकी सहनी घरबाट हराएकी थिइन् । १५ फागुनयता उनी आश्रममा थिइन् । लट्टा परेका कपाल र बोलेको बिर्सिने सहनीलाई आश्रमले उद्दार गरी राखेको थियो ।

सहनीलाई आश्रममा नै डाक्टरको सल्लाहअनुसार उपचार गराइएको थियो ।

आश्रममा रहदा सहनीले परिवारलाई निकै याद गर्ने गर्थिन् । ‘लिच्ची व्यापार गर्ने सहनी आश्रममा रहेको लिच्चीका बोट देखेर परिवार सम्झँदै बसिरहनथिन्’ आश्रमका स्वयंमसेवक नवराज केसीले भने,‘हामीले पुनर्मिलन गराउँदा सबैजना भावुक हुनुभयो ।’

सहनीले सधैं परिवारलाई सम्झिँदै परिवारको मात्र कुरा गर्ने भएकाले आश्रमले पनि सहनीको परिवारको खोजी सुरु गरेको थियो । आश्रममा सहयोगीका रूपमा आएका सुमन अग्रवालले सहनीलाई चिनेपछि सहनीको छोरालाई सम्पर्क गरेका थिए ।

आफ्नी हराइरहेकी आमाको धेरै खोजी गरेको भएपनि नभेटिएको र यस्तो लकडाउनको समयमा आश्रममा सुरक्षित रहेकी आमालाई भेटिँदा आफू धेरै खुशी भएको सहनीका छोरा कैलाश सहनीले बताए ।

रंगेली घर भएकी सहनीको ४ जेठमा आश्रम परिसरमा आफ्नो परिवारसँग पुनर्मिलन भएको हो । आश्रमले फूलको गुच्छा, अबिरसहित सहनीलाई आश्रमबाट बिदा गरेको थियो ।

Loading...