विराटनगरमा नक्कली मदिराको कारोबार, गोदाममा प्रहरीको छापा

विराटनगर, ६ जेठ । विराटनगरमा नक्कली मदिरा बनाउने गोदाममा प्रहरीले छापा मारेको छ । ठूला ब्राण्डका रक्सीको बोतलमा नक्कली मदिरा हालेर बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीको नेतृत्त्वमा पुगेको टोलीले विराटनगर बसपार्कमा विराटनगर वडा नम्बर–६ शान्तिचौकका २४ वर्षीय श्रवण मुखियाले सञ्चालन गरेको पसल भित्रको गोदामबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।

ओल्ड दरबार, भोटका, सिग्नेचरलगायत महंगा रक्सीको बोतलमा नक्कली मदिरा हालेर बिक्री गर्नका लागि राखेको अवस्थामा भेटिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

सयौंको मात्रामा बोतल भेटिएको बताउँदै उनले थप अनुसन्धान जारी रहेको बताए ।

प्रहरीले बोतलमा पुरानो रक्सी राखेर बिक्री गर्ने विराटनगर वडा नम्बर–६ शान्तिचौकका २४ वर्षीय श्रवण मुखियालाई पक्राउ गरेको हो ।

उनले पसल खोलेर ठूला ब्राण्डका रक्सीको बोतलमा नक्कली लेभल र स्टिकर लगाएर बिक्री गर्ने गरेका थिए । लकडाउनमा पनि उनले आफ्नो कारोबारलाई जारी राखेको प्रहरीले जनाएको छ ।

Loading...