कोरोनाबाट बच्न प्रमाण नभएको औषधि सेवन गर्दै ट्रम्प

एजेन्सी, ६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्नका लागि हाइड्रोक्सीक्लोरोक्विन नामक औषधि सेवन गरिरहेका छन् ।

बीबीसीका अनुसार ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले मलेरिया र ल्युपसको उपचार गर्न प्रयोग गरिने हाइड्रोक्सीक्लोरोक्विन लिन सुरु गरेको बताएका छन् ।

उनले करिब डेढ हप्तादेखि औषधि लिइरहेको र हालसम्म सबैको अगाडि स्वस्थ छु भनेर पनि बताएका छन् ।

‘कति व्यक्तिले यो औषधि लिइरहेका छन् भन्ने कुरा जानेर छक्क पर्नुहुन्छ’, ट्रम्प भन्छन्, ‘विशेषगरी फ्रन्टलाइनमा काम गर्नेहरूले कोरोना भाइरसबाट बच्नको लागि यो औषधि लिइरहेका छन् । र, म आफैँले यो औषधि लिइरहेको छु ।’

हाइड्रोक्सीक्लोरोक्वाइन प्रयोगले पाएको सकारात्मक प्रमाणको विषयमा धेरै कलहरू आएको ट्रम्प बताउँछन् ।

मलेरियाको उपचारमा प्रयोग गरिने यो औषधि कोरोना भाइरसको उपचारमा कति प्रभावकारी रहेको छ भनेर विश्व स्वास्थ्य संगठनले हालसम्म केही पुष्टि नभएको बताउँदै आएको छ ।

Loading...