दुई महिनापछि प्रशिक्षणमा फर्कियो लिभरपुल

एजेन्सी, ६ जेठ । प्रिमियर लिगको उपाधि दाबेदार मानिएको लिभरपुल प्रशिक्षणमा फर्किएको छ । कोरोना महामारीका कारण दुई महिनापछि लिभरपुल पहिलोपटक प्रशिक्षणमा फर्किएको हो ।

लिभरपुल प्रशिक्षणमा फर्किने पहिलो प्रिमियर लिग क्लब बनेको छ । जर्गेन क्लोप नेतृत्त्वको टोली सामाजिक दूरी कायम गर्दै अभ्यासमा फर्किएको हो । लिभरपुलले मंगलबारबाट सानो समूह बनाएर प्रशिक्षण थालेको हो ।

सोमबार बसेको प्रिमियर लिग क्लबको बैठकले सानो समूहमा अभ्यास गर्न अनुमति दिएको थियो । प्रिमियर लिगका २० वटै क्लबले अभ्यासको प्रस्तावमा समर्थन गरेका थिए ।

क्लबका खेलाडी, प्रशिक्षक र स्वास्थ्यकर्मीको रायका आधारमा निर्णय लिइएको प्रिमियर लिगले जनाएको छ ।

खेलाडीहरूले घरबाटै मैदानमा अभ्यास पोसाक र आफ्नै गाडीमा जानुपर्नेछ । प्रिमियर लिगका २० मध्ये १४ क्लबको सहमतिपछि मात्र स्वास्थ्य र अभ्याससम्बन्धी निर्देशिका पारित हुने बताइएकोमा सबै क्लबले समर्थन गरेका हुन् ।

कोरोनाको कारण गत मार्चबाट स्थगित प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ ।

लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहँदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।

Loading...