‘दिल्ली टु जोगवनी पैदल’, क्वारेन्टाइनमा बसेको ६ दिनपछि कोरोना पोजिटिभ

विराटनगर, ६ जेठ । सुनसरी गढी गाउँपालिकामा संक्रमण पुष्टि भएका युवक दिल्लीबाट हिँडेरै जोगबनीसम्म आएको पाइएको छ ।

सोमबार सुनसरी गढी गाउँपालिका १ का एक युवकमा कोरोना संक्रमण देखिएको थियो । उनी ३० बैशाखमा दिल्लीबाट जोगबनी आइपुगेका थिए ।

गढी गाँउपालिका वडा नम्बर १ को सीमाक्षेत्र भनेको इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार पर्छ ।

संक्रमित युवक भारतको दिल्लीबाट अन्य ११ जना युवकसँगै पैदल जोगबनीसम्म आएका थिए । जोगवनीमा आएका उनीहरूलाई राति भारतीय सीमा सुरक्षा बल एसएसबीले चोरबाटो हुँदै नेपाल प्रवेश गराएको थियो ।

नाकामा स्थानीय प्रशासनले रोकेपछि गाउँपालिकाले ती युवकसँगै आएका ११ मध्ये पाँचजना गढी गाउँपालिकाका थिए । २ जना इटहरी, एकजना धरान र एकजना इनरुवाका थिए । त्यस्तै मोरङका दुईजना थिए ।

उनीहरूलाई जोगबनी नाकाबाट गाँउपालिकाकै पहलमा एम्बुलेन्समा हालेर सिधै गढी गाउँपालिका कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमित युवक नेपाल प्रवेश गरेकोसमयमा १५ जना नेपाली भारतबाट आएका थिए ।

नेपाल प्रवेश गर्नेहरुमा ११ जना दिल्लीबाट र ४ जना बिहारको छप्रा जिल्लाबाट आएकाहरू थिए ।

दिल्लीबाट आएकाहरू ११ दिनको पैदल र ट्रकको यात्रापछि जोगबनी आइपुगेका थिए ।

नेपाल आउनेक्रममा केही स्थानमा ट्रकमा लिफ्ट मागेर आएका थिए । नेपाल प्रवेश गर्ने १४ जनाको समूहमा ४ जना झापाका थिए ।

गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएकाले गाउँमा जोखिम नभएको बताए ।

‘जोगबनी आएकालाई सिधै एम्बुलेन्समा हालेर क्वारेन्टाइनमा राख्यौं,’ उनले भने, ‘तीमध्ये एकजनालाई कोरोना देखियो ।’ अन्यको रिपोटी नेगेटिभ आएपनि १४ दिनसम्म क्वारेन्टाइनमा राखिने उनले बताए ।

Loading...