विदेशमा अलपत्र नेपालीलाई ल्याउन सरकार कार्ययोजना बनाउदै

काठमाण्डौ , ६ जेठ । विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले कार्ययोजना बनाउन थालेको छ ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन कार्ययोजना निर्माण गर्न थालेको हो ।

विदेशमा अलपत्र परेका नेपालीहरु र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार सिंहदरवारमा समितिको बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीका अनुसार भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा बैठकमा छलफल भएको बताए ।

सात वटै प्रदेश सरकार र संघीय मन्त्रीहरुको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी विदेशमा रहेका नेपालीहरुलाई ल्याउन सकिन्छ भन्ने विषयमा समितिले कार्ययोजना तयार गर्न लागेको छ ।

सचिव विडारीका अनुसार विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फौलिन नदिने गरी क्रमश ल्याउने ढंगको योजना तयारी गर्ने चरणमा सरकार लागेको छ ।

समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्ड र सुरक्षाको व्यवस्था अनि तथ्याङ्क व्यवस्थित गर्नेबारे छलफल भएको छ ।

बिदेशवाट आएका नेपालीहरु राख्ने क्वारेन्टाइन नेपाली सेनाको व्यवस्थापन र स्वास्थ्यकर्मीहरुको अगुवाईमा हुनेछ ।

क्वारेन्टाइनमा बस्नेहरुको बन्दोबस्ति र खानपिनको व्यवस्था संघीय सरकारको आर्थिक सहयोगमा सम्बन्धित स्थानीय तहले जिम्मा लिनुपर्नेछ ।

फोटो , फाइल

Loading...