प्रदेश सभाको बजेट अधिवेशन १४ जेठ देखी

विराटनगर , ६ जेठ । एक नम्बर प्रदेश सभाको बजेट अधिबेशन यही १४ जेठदेखी सञ्चालन हुने भएको छ ।

एक नम्बर प्रदेश सरकारको सोमवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश सभाको बजेट अधिबेशन यही १४ जेठ दिउँसो २ बजेदेखी बोलाउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले अधिवेशन बोलाउने परिपत्र गरेपछि १४ जेठ बाट बजेट अधिवेशन सञ्चालन हुने सार्वजनिक सूचना जारी गरिने प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

उनका अनुसार प्रदेश सभाको अगामी बजेट अधिबेशन संसदको पुरानै बैठकहलमा समाजिक दुरी कायम गरेर सञ्चालन गरिने छ ।

समाजिक दुरी बनाउनकालागि प्रदेश सभा सचिवालयले पुराना र साँगुरा कुर्सीहरु हटाएर धमाधम एक एक मिटर दुरीमा नयाँ कुर्सीहरु राख्न थालेको छ ।

सभाहलमा समाजिक दुरी बनाउन सबैकालागि संभव नभए बाँकीलाई माथिल्लो तलामा रहेको संसदिय दलको सभाहलमा पनि बस्ने व्यावस्था मिलाइने छ ।माथिल्लो हलमा समाजिक दुरी बनाएर स्क्रिनमा हेर्न पाउने व्यवस्था हुनेछ ।

बजेट अधिवेशन अवधिभर प्रदेश सभामा हातधुनुपर्ने , सेनिटाइजर , मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ । साथै संभव भएसम्म सबै सांसदहरुको कोरोना पनि परीक्षण गरिने छ ।

बजेट अधिबेशन अवधिभर बैठकमा सहभागी हुन आएका प्रदेश सांसदहरुलाई बाहिरै प्रांङगणमा टेन्ट राखेर समाजिक दुरी कायम गरि हाजिरी गर्ने व्यवस्था मिलाइने छ ।

कोरोना संक्रमण हुने भयले ६ चैत २०७६ देखी नै एक नम्बर प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक स्थगित भएको थियो । लकडाउन बढेपछि ३ बैसाख २०७६ देखी हिउँदे अधिवेशन औपचारिक रुपमा अन्त भएको थियो ।

एक नम्बर प्रदेश सभामा सत्ताधारी दल नेकपा ६७ मुख्य प्रतिपक्षी काँग्रेस २१ प्रतिपक्षी समाजबादी ३ राप्रपा १ र संघिय लोकतान्त्रिक मञ्चको १ जना गरि जम्मा ९३ जना सांसद छन ।

Loading...