रियलले २०२१ सम्म हालाण्ड र एम्बाप्पे भित्र्याउने

एजेन्सी, ५ जेठ । स्पेनिस क्लब रियल मड्रिडले सन् २०२१ सम्ममा दुई युवा खेलाडीलाई भित्र्याउने योजना बनाएको छ ।

आगामी वर्षसम्ममा आफ्नो ‘अट्याकिङ लाइन’ बलियो बनाउन रियलले इयर्लिङ हालाण्ड र किलियन एम्बाप्पे भित्र्याउने योजना बनाएको छ ।

स्पेनिस मिडिया ‘एएस’का अनुसार इडेन हाजार्डको साथका लागि रियलले हालाण्ड र एम्बाप्पेलाई आगामी वर्षसम्ममा भित्र्याउने योजना बनाएको हो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले पछिल्लो समय उच्च प्रदर्शनका कारण चर्चामा रहेका २ स्टारलाई बर्नाबेउ ल्याउने योजना बनाएका हुन् ।

एएसका अनुसार एम्बाप्पे र हालाण्डलाई आगागी वर्षसम्ममा अनुबन्ध गर्ने विषयमा रियलका प्रतिनिधिबीच छलफल हुने भएको छ ।

त्यसपछि भने उनीहरूले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग यसबारे छलफल गर्नेछन् ।

रियलले यसै सिजन मात्र बेल्जियन स्टार इडेन हाजार्डलाई इंग्लिस क्लब चेल्सीबाट अनबन्ध गरेको छ । ८० मिलियन युरोमा रियल आएका हाजार्डले पाँच वर्षे सम्झौता गरेका छन् ।

उनका साथ खेलाउनका जिदानले नर्वेजियन स्टार हालाण्ड र विश्वकप विजेता एम्बाप्पेलाई भित्र्याउने योजना बनाएका हुन् ।

यद्यपि, यसै सिजन मात्र अष्ट्रियन क्लब साल्जबर्गबाट जर्मन क्लब आएका हालाण्डले रियल आउने मनसाय नबनाएको बताइन्छ ।

यता, एम्बाप्पेको पनि पीएसजीसँग सन् २०२२ सम्मको सम्झौता रहेको छ ।

Loading...