ऋचाको प्रश्न : अपशब्द बोल्नेहरूलाई पाठ सिकाउनु पर्दैन हामीले ?

विराटनगर, ५ जेठ । अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको ”पाताललोक” नामको सिरियलमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै नराम्रो शब्द प्रयोग गरिएको छ ।

बलिउडकि अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको भारतीय सिरियलमा नेपालीलाई जोडेर निकै नराम्रो गाली गरेपछि अहिले जताततै यसको विरोध भइरहेको छ ।

नेपाली चलचित्रका कलाकारहरूले पनि यसमा चर्को विरोध गरिरहेका छन् ।

सामाजिक सञ्जालमा नेपाली कलाकारमाथि प्रयोग हुने अपशब्दको विषयमा भने कोही नबोलेको भन्दै अभिनेत्री ऋचा शर्माले प्रश्न उठाएकी छिन् ।

“अमेजन प्राइमको ‘पाताल लोक’ सिरिजमा नेपाली महिलालाई लिएर जुन अपशब्द प्रयोग भयो, त्यसले सम्पूर्ण नेपालीको मन दु:खेको छ । फिल्मको निर्माण पक्षले नेपालीहरूसँग माफी माग्नुपर्छ र त्यो शब्द सिरिजबाट हटाउनुपर्छ, ” ऋचा सामाजिक सञ्जालमा लेख्छिन्, “यस्तो बेलामा हामी सबै एक भएका छौं । तर, यस्तो एकता नेपाली कलाकार, मोडल, मिस नेपालहरूलाई टिप्पणीको विरोधमा कहिल्यै देखिएन ।”

“त्यो टिप्पणी व्यक्तिविशेषलाई आएको भएर कसैले चासो नदेखाउनुभएको होला । त्यस्ता अपशब्द बोल्नेहरूलाई पाठ सिकाउनु पर्दैन हामीले ?” भन्ने प्रश्न ऋचाले गरेकी छिन् ।  

Loading...