‘मरेपछि मात्र कोरोना पुष्टि हुने एकमात्र देश नेपाल’

काठमाडौं, ५ वैशाख । प्रतिनिधिसभाका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिएका छन् । सोमबार नीति तथा कार्यक्रमको छलफलमाथि भाग लिँदै प्रतिपक्षी दलका सांसदहरूले जन अपेक्षाअनुसार नीति तथा कार्यक्रम नआएको बताएका हुन् ।

समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव सरकारले उठाउन नसकेको भन्दै आलोचना गरिन् । नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले नेताहरूले ठूला कुरा गरेपनि कोरोना महामारीको संकटसँग जुट्ने हिम्मत नगरेको बताइन् ।

‘कोरोनाबाट मृत्यु भएकी महिलाको लास उठाउन पनि सरकारले हिम्मत देखाएन । स्वयमसेवकले लास उठाएर पशुपति घाँट लगे,’ उनले भनिन्, ‘यहाँ ठूल्ठूलो कुरा गरिरहेका छन् । मधेशमा क्वारेन्टाइन छैन् । मरेपछि कोरोना पुष्टि हुने एकमात्र देश नेपाल हो ।’

प्रतिपक्षी दल कांग्रेसका सांसद प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षाका लागि खटिनुपर्ने नेपाली सेना सडकमा खटिएर जनतालाई अपमानित गरिरहेको बताए । उनले भने ‘सरकारले के गर्न खोजेको ? राष्ट्रिय सुरक्षामा लगाउनुपर्ने सेनालाई किन ? शान्ति सुरक्षामा त प्रहरीलाई लगाउनुपर्ने हो नी । किन यस्तो भइरहेको छ । जनतालाई किन अपमानित गरिरहेको छ । सरकारको नियत के हो ? भन्ने कुराबाट हामी सजग हुनुपर्छ ।’

सुगौली सन्धी अनुसार सम्पूर्ण भूमि समेटेर नेपालको नयाँ नक्सा छिटो जारी गर्नुपर्ने उनले बताए । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई सत्तारुढ दलले आफ्नो आन्तरिक विवादको विषय बनाएको बताए ।

आन्तरिक विवादको विषय नबनाएर यसलाई संसदमा पेश गरी थप छलफल गर्नुपर्ने उनको भनाइ थियो । उनले बजेट रोग र भोकबाट जनतलाई जोगाउनमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय जनता पार्टी राजापाका सांसद सरतसिंह भण्डारीले महामारी रोकथाम भन्दापनि नयाँ रेकर्ड कायम गर्ने भूत सरकारमा सवार भएको बताए । नीति तथा कार्यक्रममा महामारी रोकथाम, नियन्त्रण र यसबाट प्रभावित क्षेत्रहरूका विषयमा आउनुपर्ने भएपनि त्यो हुन नसकेको बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई कृषिसँग जोड्न सके आर्थिक उपार्जनको बाटो खुला हुने बताए । स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै कृषिलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

Loading...