नीति तथा कार्यक्रमको प्रतिपक्षद्वारा विरोध, सत्तापक्षको प्रशंसा

काठमाडौ, ५ जेठ । राष्ट्रियसभाकोे बैठकमा सत्तापक्षका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलले सुधारको माग गरेका छन् ।

सोमबारको बैठकमा आगामी बर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमको स्वागत गरेका हुन् । उनीहरूले मुलुकको आवश्यकताअनुसार कार्यक्रम आएको भन्दै सरकारको बचाउ गरेका छन् ।

विपक्षी दलका सांसदहरूले कोरोनाले प्रभावित जनजीवन उकास्ने तथा शिथिल अर्थतन्त्रलाई टेवा पुग्ने नभएको भन्दै सुधार आवश्यक रहेको बताए । नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले नीति र कार्यक्रम सामूहिक रूपमा प्रस्तुत भएको, राष्ट्रको आवश्यकता तथा जनताको चाहाना र सपनालाई सम्बोधन गरेको भन्दै सरकारको बचाउ गरे । सरकारले भनेको र देखाएको सपना पूरा गरेको भन्दै उनले नेपाल सरकार अग्निपरीक्षामा खरो उत्रिएको दाबी गरे ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रशंसा गरे । भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिले नेपाली जनताको अपमान गरेको भन्दै निन्दा गरे ।

नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य तारादेवी भट्टले लकडाउनपछि शिथिल बनेको अर्थतन्त्र उकास्ने किसिमका आर्थिक पुर्नसंरचनाको कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरिन् । नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमले भ्रष्टाचारलाई बढाउने त होइन भन्ने प्रसस्त आधार देखिएको भन्दै उनले शहर केन्द्रीत नभई स्थानीय निकायलाई शक्तिशाली बनाउने तर्फ बजेट केन्द्रीत गर्नुपर्ने धारणा राखिन् ।

लकडाउनका कारण सर्वसाधरणको दैनिकीसँगै मुलुकको आर्थिक क्षेत्र नराम्रोसंग प्रभावित भएकोले तत्काल राहत प्याकेज तथा आर्थिक पुनर्संरचनाको प्याकेज ल्याउनुपर्नेमा जोड दिए । सरकारले आर्थिक र स्वास्थ्य क्षेत्रमा परेको असरलाई सम्बोधन गर्नुपर्ने उनको सुझाव थियो ।

त्यसैगरी नेकपाका राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले नीति तथा कार्यक्रमले मुलुकका समस्या सम्बोधन गर्ने गरी आएको भन्दै समर्थन गरे । जनतालाई राहत, रोजगार, कृषि प्रवर्द्धन तथा लोकतन्त्रको सम्र्बद्धनसँगै सीमा विवादको सन्र्दभमा आफ्नो भूमि राखेर नक्सा सार्वजनिक गर्ने विषयसमेत कार्यक्रममा समावेश भएको भन्दै प्रशंसा गरे ।

राष्ट्रियसभा सदस्य दिलकुमारी रावल पार्वतिले नीति तथा कार्यक्रमको समर्थन गरिन् । अहिले आमनागरिकको जीवन रक्षा र स्वास्थ्य उपचार र निरोगी नागरिक बनाउनु नै राज्यको मुख्य दायित्व भएको भन्दै त्यसतर्फ सरकारका कार्यक्रम उन्मुख भएको भन्दै स्वागत गरिन् ।

Loading...