सागमा पदक जिताउने प्रशिक्षकहरूले पाए सरकारी पुरस्कार

काठमाडौं, ५ जेठ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक जित्ने खेलका प्रशिक्षकहरूलाई घोषणा गरिएअनुसारको पुरस्कार रकम भुक्तानी गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालय आज विज्ञप्ति जारी गर्दै पुरस्कार बराबरको रकम सम्बन्धित प्रशिक्षकहरूको बैंक खातामा जम्मा गरिदिएको जानकारी दिएको छ ।

पदक जित्ने खेलका एक सय १२ प्रशिक्षक तथा सहायक प्रशिक्षकमध्ये ६८ जनाको बैंक खातामा मात्र पुरस्कार रकम जम्मा गरिएको हो ।

‘खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२’ अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट (राखेप) उपलब्ध गराइएका विवरण बमोजिम हालका लागि ६८ जनाको खातामा मात्र रकम जम्मा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पुरस्कार रकम भुक्तानी नगरिएका प्रशिक्षक तथा सहायक प्रशिक्षकहरुको हकमा भने कार्यविधिअनुसार कुनै पेश्की वा सरकारी बाँकी रहे नरहेको लिखित व्यहोरा राखेपबाट आएपछि मात्र हुने खुलाइएको छ ।

युवा तथा खेलकूद मन्त्रालयले १३औं सागमा पदक जित्न सबै खेलाडी र खेलका प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूलाई एक विशेष समारोहको आयोजना गरी पुरस्कार एवम् सम्मान गर्ने कार्यक्रम बनाएको थियो ।

तर विश्वव्यापी कोरोना महामारीका कारण आयोजना गरिने भनिएको सो कार्यक्रम स्थिगित गर्नु परेको थियो । सम्मान कार्यक्रम स्थिगित गरिएपनि पदक विजेता खेलाडीहरूलाई घोषणा भएबमोजिमको पुरस्कार रकम यसअघि नै भुक्तानी गरिसकिएको छ ।

मन्त्रालयका अनुसार स्थिति सामान्य भएपश्चात भने एक विशेष कार्यक्रमको आयोजना गरी पदक विजेता खेलाडी, प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूलाई सम्मान गरिनेछ ।

Loading...