लिग जित्न हामी उत्कृष्ट भइरहन पर्दैन : क्लोप

एजेन्सी, ५ जेठ । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले प्रिमियर लिग जित्न आफ्नो क्लब उत्कृष्ट फर्ममा रहिरहन नपर्ने बताएका छन् ।

प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २५ अंकले माथि रहँदै लिभरपुल शीर्ष स्थानमा छ ।

लिग हुने नहुने अनिश्चित भइरहेको बेला लिभरपुल लिग पुनः सुरु होस् र खेल खेल्न पाईयोस् भनने पक्षमा छ ।

यता, दर्शकबिना नै बन्द रंगशालामा बाँकी रहेका खेल खेलाउने योजनासहित लिग सुरु गर्ने तयारीमा प्रिमियर लिग रहेको बेला लिभरपुलले भने आफ्नो प्रशिक्षण सुरु गरिसकेको छ ।

लिभरपुलको अभ्यास मैदान मेलवुड बेसमा खेलाडीहरूलाई अभ्यासका लागि क्लबले स्वीकृति दिएसँगै प्रशिक्षण सुरु भएको हो ।

‘यतिबेला हामी सबैको अवस्था उस्तै छ र लिग सुरु हुनेबित्तिकै हामीले एक अर्काविरुद्ध नै खेल्ने हो,’ बीबीसीसँग कुरा गर्दै लिभरपुलका प्रशिक्षक क्लोप भन्छन्, ‘हामी अरुभन्दा राम्रो वा उत्कृष्ट भइरहन पर्दैन तर सत्यचाहिँ के हो भने हामी जति सक्छौँ उत्कृष्ट भने हुन चाहन्छौं ।’

सबै क्लबहरूका लागि तयारीको समय बराबर नै हुने भएकाले आफ्नो क्लब, खेलाडी र अन्य अफिसियलहरूको अवस्था राम्रोसँग बुझ्न जरुरी रहेको क्लोपले बताए ।

सकेसम्म सबै क्लब राम्रो फर्ममा रहे खेलको स्तर नघट्ने र प्रतिस्पर्धाका लागि उत्साह थपिने क्लोपले बताउँछन् ।

Loading...