देश चम्काउने सपना बोकेका सीमानाबासी कमल किशोर

म कमल किशोर यादव (६७) हुँ । म विराटराजा दरबार पर्यटन क्षेत्र समितिको अभियन्ता हुँ । मैले सीमानामा बसेर पनि नेपालको नाम विश्वमा चम्काउन पाइयोस् भनेर विराट राजाको भग्नावशेष उत्खनन् गराएँ । अहिले घेराबार भएर सामान्य संरक्षण भएको छ ।

अझै पूर्ण उत्खनन गर्न बाँकी छ । मैले विराट राजाको दरबारको पुरातात्विक महत्वका वस्तुहरू सबै संकलन गरेर घरमै संग्रहालय स्थापना गरेर राखेको छु । यसका लागि मैले धेरै संघर्ष गरेको छु । मलाई पैसा हैन विकाससँग मतलब छ । तर अझै हुनुपर्ने जति भएको छैन, खै किन हो ?

मैले देश विदेशबाट ऐतिहासिक विराट राजा दरबारक्षेत्रको संरक्षण गरेवापत सम्मान पनि पाइसकेको छु । मलाई भेट्न भारतबाट सुष्मा स्वराजदेखि, नेपालका धेरै मन्त्री नेता र विदेशी विज्ञ र अनुसन्धानकर्ता आइसक्नुभएको छ ।

पैसा कमाउन हैन इतिहास जोगाउने अभियान

म पैसा कमाउन हैन इतिहास जोगाउने अभियानमा लागेको हुँ । पौराणिककालको विराट राजाको दरबारक्षेत्रलाई जोगाउन आफूले देखे, बुझे र भ्याएसम्मका वस्तु कुनैपनि संकलन गर्न छोडेको छैन ।

तत्कालीन समयमा प्रयोग गरिएको भनिएका पुराना पत्थरको लोहोरो, सिलौटो, नापतौल गर्ने सामग्री, चकमक पत्थर, माटोको सिक्का, देवी भद्रिनाको मूर्ति, सूर्यको मूर्ति, पुराना ५ किसिमका शालिग्राम, नरवदेश्वरको मूर्ति र दरबारमा प्रयोग भएका पुराना चारपाटे इँटाहरूसँगै ५ हजार वर्ष पुरानो चामल पनि संकलन गरिसकेको छु ।

मेरो एउटै सपना छ, अभियानले राष्ट्रको ध्यान खिचोस् । सरकारले योजना बनाएर विराट राजाको ऐतिहासिक पुरातात्विक क्षेत्रको विकास गरोस् र विश्वमा नेपालको प्रसिद्धि फैलियोस् ।

अन्य केही होइन विराटकालीन इतिहास नै हो

हुनतः कसैकसैले त्यहाँ विराट राजाको दरबार नभएको र पाँच पाण्डवहरू वनवास पनि नआएको शंका गरेका छन् । उक्त स्थान मुगलकालीन कुनै राजा महाराजाहरूको दरबार भएको क्षेत्र पनि हुनसक्ने भन्दछन् । तर मेरो पूर्ण दाबी छ कि यो कुनै अन्य इतिहास नभएर विराटकालीन इतिहास नै हो ।

भारतीय जनतापार्टीकी प्रभावशाली नेतृ सुष्मा स्वराजले समेत उक्त ऐतिहासिक स्थानको निरीक्षण गरेर विराट राजाको इतिहास जीवितै रहेको प्रतिक्रिया दिएकी छन् । फेला परेका सामाग्री र जमिनमुनि रहेका भग्नावशेषहरूले उक्त स्थान विराटकालीन इतिहास हो भन्नेमा कुनै शंका नभएकोले सरकारले इतिहास बचाउन तत्काल बृहत्त गुरु योजना ल्याउनुपर्ने र उत्खनन थाल्नुपर्नेमा अझै गरेको छैन ।

यसरी सुरु भयो इतिहास जोगाउने अभियान

मैले स्कुले शिक्षा पूरा गरेको हुँ । ४ छोरा र २ छोरीका साथमा आफ्नै घरगृहस्थीमा रमाउँदै सीमा क्षेत्रमा बस्दै आएको थिएँ । एकदिन मैले रसियन लेखक ‘मिस्टर ईलियन एस सहगल’को इतिहासबारेको पुस्तक अध्ययन गर्ने मौका पाएँ । धन–सम्पत्तिले मात्रै नाम कमाउन सकिने रहेनछ । आफ्नै वरिपरि भएको इतिहासको संरक्षण गरे आफ्नो मात्र हैन देशकै नाम राख्न सकिने रहेछ भन्ने लाग्यो । यसैले म विराटकालीन इतिहासको संरक्षणमा निरन्तर जुटिरहेको छु ।

सीमानाको सुरक्षामा निरन्तर खबरदारी

हामी पुर्खौंदेखि सीमानाको सुरक्षा गरेर बस्दै आएका छौं । हामीले सीमानाको सुरक्षा गरेका छौं । दशगजा मासेर खेती गर्नेहरूलाई रोकेका छाैं । मिचेर घर बनाउनेहरूलाई सम्झाएका छौं । म जस्तो धेरै जना हुनुहुन्छ अभियन्ता, जसले सीमानामा बसेर देशको सुरक्षा गरिरहनु भएको थियो र छ । जहदा गाउँपालिकामा सदानन्द यादव, उहाँका छोरा मोतीलाल यादव, तरगाममा अशोक साहहरू जस्ता धेरै छाैं, जो सीमाना असुरक्षित हुँदा टुलुटुलु हेरेर बस्दैनौं ।

पहिले जंगल हुँदा बस्ती थिएन रे अनि दशगजा पनि थिएन रे । जिजु–हजुरबाहरूले बताएको र हाम्रो हजुरबाहरूले सुनाएअनुसार सुगौधी सन्धिपछि दशगजा छुटिएको हो । जब सीमाना छुटियो, हामीले तलमाथि हुन दिएका छैनौं ।

भूमि भनेको माता हो, यसैले एक इन्च पनि तलमाथि हुन दिनुहुँदैन । हाम्र्रो ठाउँमा हुन पनि दिएको छैन । भारततिर दशगजा छोएर घर बनाउँदा पनि हामीले सम्झाएका छौं । अझै पनि धेरै पर पर दशगजामा घर बनाएका छन् अरे, त्यो त सरकारले हेर्नुपर्छ । विराट राजाको दरबारक्षेत्र मासेर संयुक्त भन्सार जाँचचौकी बनाउन खोज्दा मैले तीव्र विरोध गरेकै कारणले जोगियो, ऐतिहासिक संरचना । भारतले त मिचेर वरसम्मै आईसीपी बनाउन खोजेको थियो । तर विरोध गरेपछि बल्ल दशगजा छुवाएर पर्खाल बनायो ।

Loading...