‘बार्सिलोनाले नेयमारलाई फर्काउँदैन’

एजेन्सी, ५ जेठ । ब्राजिलका पूर्वस्ट्राइकर जियोभाने इल्बरले बार्सिलोनाले पूर्वखेलाडी नेयमारलाई नफर्काउने बताएका छन् । नेयमारले बार्सिलोनासँग ‘खराब व्यवहार’ गरेको भन्दै इल्बरले यस्तो बताएका हुन् ।

२८ वर्षीय नेयमार पछिल्लो समय पुनः बार्सिलोना फर्किने चर्चामा छन् । करिब तीन वर्षअघि कीर्तिमानी मूल्य २ सय ४० मिलियन डलरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका उनी फेरि क्याप नोउ फर्किने विषयमा चर्चामा छन् ।

तर, बायर्न म्युनिखको पूर्वखेलाडी इल्बरले नेयमार बार्सिलोना फर्किन असम्भव रहेको बताएका छन् । ‘क्यानेडा एसईआर’सँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘बार्सिलोनाले नेयमारलाई फर्काउँदैन । जब उनले क्याप नोउ छोडेका थिए, मलाई लाग्छ अब उनी बार्सिलोना फर्किने सम्भावना छैन ।’

‘मेरो विचारमा उनले बार्सिलोनासँग खराब व्यवहार गरेका छन्, किनकी जब उनले विश्वकै उत्कृष्ट खेलाडी बन्नका लागि बार्सिलोना छोड्न चाहेका थिए । तर, उनले पीएसजीबाट त्यो सफलता हात पार्न सकेनन् । उत्कृष्ट बन्न रियल मड्रिड वा बार्सिलोना नै जानुपर्छ’, उनले भने ।

यसैगरी इल्बरले अबको तीन वा चार वर्षमा पीएसजी पनि च्याम्पियन्स लिग विजेता हुनसक्ने बताए । ‘मेरो विचारमा, पीएसजी अहिले नै च्याम्पियन्स लिग जित्न सक्षम छैन । उसलाई आगामी तीन वा चार वर्ष लाग्न सक्छ’, उनले थपे ।

Loading...