फेरिएका फुटबल सेलिब्रेशन

एजेन्सी, ४ जेठ । विश्वचर्चित फुटबल प्रतियोगितामध्ये कोरोना महामारीपछि सञ्चालन हुने पहिलो फुटबल लिग हो जर्मन बुन्डेशलिगा । स्वास्थ्य सुरक्षाका उपाय र सामाजिक दूरीको नियम पालना गर्दै १६ मेबाट लिग सुरु गराइएको हो ।

बुन्डेशलिगा सुचारु गरिएको पहिलो दिन ६ खेल खेलाइएका थिए, जसमध्ये २ खेल बराबरी र अन्य ४ खेलको स्पष्ट जितसहितको नतिजा आएको थियो । सम्पन्न भएका ६ खेलमा कूल १६ गोल भएको थियो ।

दर्शकबिना खाली रंगशालामा खेलाइएका खेलमा बेन्चमा रहेका वैकल्पिक खेलाडीहरूलाई समेत सामाजिक दूरीमा बसाइएको थियो । खेलमा गोल भएपनि खेलाडीहरूले अन्य बेला जसरी समूहमा खुशियाली भने मनाएनन् ।

स्वास्थ्य सुरक्षासम्बन्धी नियमका कारण खेलाडीहरूबीच अंकमाल र हात मिलाउने कार्य हुन पाएन । तर, पनि खेलाडीहरूले गोलको खुशियाली मनाउन भने छाडेनन्, उनीहरुले आ–आफ्नो सेलिब्रेशनहरू परिवर्तन गरे वा भनौँ परिमार्जित गरे ।

आर बी लेपजिगविरुद्ध १–१ को बराबरी गर्दा फ्रेबर्गको मनुएल गुल्डे र क्रिश्चियन गुन्टरले कुहिना जोड्दै खुशियाली मनाए । अर्काे खेलमा वुल्फसवर्गका डेनियल जिन्जेक र केभिन मबाबुले आ–आफ्ना फुटबल बुट ठोकाउँदै खुशियाली मनाए । एउसबर्गविरुद्ध अन्तिम समयमा गोल गर्दै २–१ को जित निकालेको वुल्फसवर्ग तालिकाको छैठौं स्थानमा रहेको छ ।

जर्मन जाइन्ट्स बोरुसिया डर्टमन्डको खेलाडीहरूको सेलिब्रेशनले भने सबैको मन जित्यो । इयर्लिङ हालान्ड र क्लबका अन्य खेलाडीहरूले सामाजिक दूरीको नियम पालना गरेर नृत्य गर्दै गोल गर्दाको खुशियाली मनाए । नर्वेजियन युवा स्ट्राइकरले पहिलो गोल गरेको खेलमा डर्टमुन्डले शाल्केलाई ४–० को भारी अन्तरले हराएको थियो ।

खेल सकिएपछि डर्टमनका सबै खेलाडीहरूले दर्शक बस्ने प्याराफिटतिर फर्केर ताली बजाएका थिए । रंगशालामा आएर समर्थन गर्न नपाए पनि घरमै बसेर म्याच हेरिदिएकोमा सबैलाई धन्यवाद स्वरुप डर्टमुन्डले तालि बजाएको हो ।

यद्यपि, खेलेका सबै क्लबहरूले भने स्वास्थ्य सुरुक्षा र सामाजिक दूरीका नियमहरूमा मानिएको भने पाइएन । होफेनहाइमविरुद्धको खेलमा ३–० को जित निकालेको हेरथा बर्लिनका खेलाडीहरूले भने गोलको खुशियालीमा सामाजिक दुरीका नियम उल्लघंन गर्दै सामूहिक अंकमाल गरेका थिए ।

Loading...